अविरल वर्षासँगै भालुपहाडमा पहिरोः सिद्धबाबा हुने चिन्ता

 By Khabar Bhandar
२०७८ जेष्ठ १३, बिहीबार १४:४७  मा प्रकाशित

जेठ १३, स्याङ्जा । स्याङ्जा जिल्लाको फेदीखोला अन्तर्गत रहेको भालुपहाडमा हिजोदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको छ । पहिरोका कारण बिहान केही समय सवारी आवागमनसमेत रोकिएको स्थानीयले बताएका छन् । पछि बाटो खुलाइएको छ तर ढुङ्गा खस्ने क्रम निरन्तर भइरहेकाले फेरि सिद्धबाबाको जस्तो अवस्था आउने हो कि भनेर स्थानीय चिन्तित देखिएका छन् ।

हिजो रातिदेखि परेको अविरल वर्षासँगै माथिबाट खसेको पहिरो सिद्धार्थ राजमार्गमा परेर बाटो पुरिएको हो । यहाँको घुम्तीमा बाटो साँगुरो भएकाले बाटो फराकिलो बनाउने भन्दै लामो समयदेखि कटिङ भइरहेको थियो । कटिङका क्रममा त्यहाँ निकै लामो समयसम्म यात्रुहरु जाममा बस्नुपरेको थियो । यात्रुहरुले सास्ती पाएको भन्दै विभिन्न सञ्चार माध्यममा समेत चर्चा भएको थियो ।

‘हिजो बेलुकैदेखि ढुङ्गा खस्न थालेको छ । राति ठूलो पहिरो नै गएको छ । योजनाविनाको सडक खनाइका कारण यसमा अझै समस्या देखिन सक्छ ।’ स्थानीय बुद्धिजीवी शोभाखर ढकालले बताए । ‘पानी रोकिएको बेलामा समेत माथिबाट ढुङ्गा खसिरहेकाले कतिबेला कुन सवारीको साधनमा क्षति हुन्छ भन्न सकिँदैन ।’ स्थानीय बासिन्दा अनिता पोख्रेलले भनिन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले भने, ‘बिहान एकछिन माथिबाट बगेको पहिरोले सिद्धार्थ राजमागर्ग खण्ड केही बेर रोकिए पनि तुरुन्तै सुचारु गरिएको तर अविरलको पानीले थप समस्या निम्ताएको छ ।’ समस्या आउँदा तुरुन्तै बाटो सुचारु गर्ने किसिमले तयारी गरिरहेको पनि उनले खबर भण्डारलाई बताए ।

भालुपहाड स्याङ्जाकै महत्वपूर्ण प्राकृतिक सम्पदा मानिन्छ । यहाँ दृश्यावलोकनका लागि पनि टाढाटाढाबाट मानिसहरु आउने गर्दछन् । आजभोलि यसलाई ‘सेल्फी स्पोट’ का रुपमा पनि चिन्न थालिएको छ । यहाँ खिचिएका तस्वीरहरु धेरैका फेसबुकका प्रोफाइलमा देख्न पाइन्छ भने विभिन्न चलचित्र तथा म्युजिक भिडियोमा यस ठाउँका सुन्दर दृश्यहरु देख्न सकिन्छ।  

0
Would love your thoughts, please comment.x
()
x