
युवराज पौडेल/माघ ०१
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं २ मडुवामा आजबाट तीन दिने वडास्तरीय पुरूष भलिबल प्रतियोगिता एवम् विविध सांस्कृतिक कार्यक्रम शुभारम्भ भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले खेलबाट युवाहरूमा अनुशासन र सामुहिकताको भावना अभिवृद्धि हुने बताउँदै खेललाई व्यावसायिक बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
वडाध्यक्ष कमलप्रसाद पौडेलले खेलकुदको विकासबाट नयाँ प्रतिभाको विकास हुने भएकाले युवा वर्गलाई विकृतिबाट बचाउन पनि खेलकुद प्रतियोगिता भइराख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान वडाध्यक्ष रामचन्द्र पौडेल, मडुवा युवा क्लबका पूर्व अध्यक्ष एवम् सल्लाहकार चन्द्रबहादुर गुरूङ बाबु, काङ्ग्रेसका वडा सभापति कलाधर पौडेल, एमाओवादी पालिका अध्यक्ष नरेन्द्र पौडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा मडुवा युवा क्लबकी सदस्य युमी गौतम, कलाकार सगुन थापा लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो । बाजागाजासहित विविध सांस्कृतिक कार्यक्रमहरूका साथ सञ्चालित उक्त प्रतियोगितामा आज मडुवा बि र मडुवा सि समूहका बिचमा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा मडुवा सिले बिजय प्राप्त गरेको थियो ।
दोस्रो राउन्डमा प्रगतिशील युवाक्लब ओहिया र एकता क्लब भाटीका बिचमा भएको प्रतिस्पर्धामा एकता क्लब भाटीले जित हासिल गरेको छ ।
आजबाट तिन दिनसम्म चल्ने उक्त भलिबल प्रतियोगिताको अध्यक्षता मडुवा युवा क्लबका अध्यक्ष प्रवीन क्षेत्रीले, स्वागत क्लबका राजु भुजेलले र सञ्चालन पत्रकार विक्रम परियारले गर्नुभएको थियो ।