
काठमाडौं , जेठ २०
इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको हो । एन डी प्रकाश चटौत स्मृति प्रतिष्ठानद्धारा प्रकाशित ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्धारा लिखित आरडी प्रभास चटौत सम्वद्ध १ सय ७८ वटा रचना समावेश गरिएको छ ।
डडेलधुरामा जन्मिएका ८८ वर्षिय आरडी प्रभास चटौतले भारतका विभिन्न विश्वविद्यालयबाट शास्त्रीय अध्ययन, अङग्रेजी, संस्कृत र हिन्दी साहित्यमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर एव कानुन विषयमा स्नातक समेत गरेका छन् ।
निजामती सेवामा ३ दशक योगदान गरेका चटौतले शैक्षिक सुधारका लागि समेत महत्वपुर्ण योगदान गरेका छन् । डडेलघुरामा सलह किराबाट खेतीपाती नष्ट भएपछि सानै उमेरमा उनले कृषकको बेदना र जागरण समेटिएको सलह नामक कविता कृति ल्याएका थिए ।