काजिमान हरिटीका माविमा दुई दिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न

 By Khabar Bhandar
२०७९ माघ ८, आईतवार २०:४९  मा प्रकाशित

 

युवराज पौडेल/माघ ०८

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयमा शिक्षकहरुका लागि दुई दिने प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण कार्यशालामा पृथ्वीनारायण क्याम्पस पोखराका अङ्ग्रेजी विषयका प्राध्यापक डा.पितृराज बास्तोला र प्राध्यापक दीपेन्द्र पराजुलीले शिक्षकहरुका लागि अङ्ग्रेजी बोलचाल सम्बन्धी विशेष प्रशिक्षण दिनुभएको थियो ।

शनिबार र आइतबार दुई दिनसम्म सञ्चालित उक्त प्रशिक्षण कार्यशालामा व्यवस्थापन समितिका अध्यक्ष ई.अनुप श्रेष्ठसहित काजिमान माध्यमिक विद्यालयमा अध्यापन गर्ने १७ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षकद्वयले कक्षा शिक्षणका आधुनिक तरिकाहरुका बारेमा शिक्षकहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्रभावकारी कक्षा व्यवस्थापन, अङ्ग्रेजी माध्यम सञ्चालन, कक्षामा आइसिटीको प्रयोग सम्बन्धि सीप, पहिलो भाषा र दोस्रो भाषामा कक्षा शिक्षणका समस्या र सम्भावना लगायतका विषयमा प्रशिक्षण भएको विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माले बताउनुभयो ।

सरकारी विद्यालयमा अङ्ग्रेजी बोलचालको वातावरण प्रभावकारी नहुँदा विद्यार्थीहरु निजी विद्यालयतिर आकर्षित भइरहेको अवस्थामा आफूहरुले पनि अङ्ग्रेजी बोलचालको वातावरणलाई प्रभावकारी बनाउने उद्देश्यका लागि दुई दिने प्रशिक्षण सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई.अनुप श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाको पुरानो इतिहास बोकेको सरकारी विद्यालय भएर पनि पछिल्लो समय गति लिन नसकेको यथार्थलाई बुझेर विद्यालयको गुणस्तर सुधारका लागि समुदायले मलाई अध्यक्षको जिम्मा दिएको छ । समुदायले दिएको जिम्मेवारी स्विकारेर म अगाडि बढिसकेको छु ।’

अभिभावकको चाहना पनि अङ्ग्रेजी माध्यम भएकाले आफूहरु पनि अङ्ग्रेजी माध्यमलाई प्रभावकारी बनाउने उद्देश्यका साथ अगाडि बढेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँ पहिलेदेखि नै अङ्ग्रेजी माध्यममा पढाइ भएको थियो तर यसलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिएपछि शिक्षकहरुलाई प्रशिक्षण दिइएको हो ।’

दुई दिनसम्म सञ्चालित उक्त प्रशिक्षण कार्यशालामा विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी २१ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको शिक्षक रिता शर्माले बताउनुभयो ।

 

 

0
Would love your thoughts, please comment.x
()
x