
युवराज पौडेल/२२ पौष
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ३ मा रहेको काजिमान हरिटीका माध्यमिक विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
उक्त पोसाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले भौगोलिक रूपले एकान्त ठाउँमा रहेको र ठुलो जनसङ्ख्याका बिचमा रहेको यो विद्यालयले प्रशस्त सम्भावना बोकेको बताउँदै परिवर्तित सन्दर्भमा विद्यालयले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष युवा इन्जिनियर अनुप श्रेष्ठले भौतिकभन्दा पनि शैक्षिक गतिविधिमा केन्द्रित भएर अगाडि बढ्ने बताउँदै आफू सबै पक्षको सहयोगमा विद्यालयलाई उत्कृष्ट बनाउने दिशामा अगाडि बढिसकेको बताउनुभयो ।
कीर्तिनन्द मानसिद्धि अक्षयकोषका संरक्षक तथा संस्थापक सुशीलमान श्रेष्ठले काजिमान हरिटीका विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएको आफूले देख्न चाहेको भन्दै विगतमा जस्तै भविष्यमा पनि विद्यालयको विकासमा तथा विद्यार्थीको उज्ज्वल भविष्यका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गोविन्दप्रसाद शर्माले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कीर्तिनन्दलिला मानसिद्धि अक्षयकोषका संरक्षक तथा संस्थापक मिनाकुमारी श्रेष्ठ र सुशीलमान श्रेष्ठद्वारा काजिमान हरिटीका विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई निशुल्क ट्राकसुट वितरण गर्नुभएको थियो । विगतदेखि नै कीर्तिनन्द अक्षयकोषले विद्यार्थीहरूलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ ।
कार्यक्रममा पूर्व विद्यार्थी मञ्चले विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने करिब ५० जना विद्यार्थीहरूलाई निशुल्क कापी,कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।
अर्धवार्षिक परीक्षामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा वडाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, व्यवस्थापन समितिका सदस्य ज्ञानु बिक, प्रधानाध्यापक ऋषिराम शर्मा, अक्षयकोषदाता मिनाकुमारी श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका सदस्य विश्वराज मरासिनी, सुर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
विद्यालयका कक्षा १२ का विद्यार्थी सुशान्त सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व व्यवस्थापन समितिका अध्यक्ष अनुप श्रेष्ठले गर्नुभएको थियो भने स्वागत कक्षा ९ का विद्यार्थी अमित तामाङले गर्नुभएको थियो ।