कालीगण्डकी कप भलिबल सम्पन्नः सांसद मल्लद्वारा खेलाडीलाई अगाडि बढ्न आग्रह

 By Khabar Bhandar
२०७८ चैत्र १, मंगलवार १६:४५  मा प्रकाशित

 

चैत्र १, २०७८ ।

स्याङ्जाको कालीगण्डकीमा प्रथम कालीगण्डकी कप २०७८ अन्तर्गत खुल्ला पुरुष  भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

नव मिर्मिरे युवा क्लब कालीगण्डकी ६ द्वारा आयोजित उक्त कालीगण्डकी कप भलिबल प्रतियोगिता समापन समारोह गण्डकी प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक सांसद भागवत् प्रकाश मल्लको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भएको छ।

उक्त समापन समारोहमा बोल्दै सांसद मल्लले भन्नुभयो, ‘हामी विकासमा राजनीति नगरौं । विचार आआफ्नो भए पनि विकासमा सबै मिलेर जानु नै उपयुक्त हो ।’ उहाँले भन्नुभयो, ‘म युवाहरुको खेलको विकासका लागि प्रदेश सांसदको हैसियतबाट सबै सहयोग गर्न तयार छु । तपाईंहरुले आफूलाई व्यावसायिक बनाउनुहोस् ।’ उहाँले यस क्षेत्रमा युवाहरुको खेलप्रतिको सक्रियता देखेर आफूलाई खुसी लागेको बताउनुभयो ।

स्याङ्जा तरुणहरुका बिच लोकप्रिय मानिने सांसद मल्लले युवाहरुलाई खेलकुद क्षेत्रमा अगाडि बढाउनका लागि समयसमयमा खेल सामग्री, खेल मैदान लगायतका क्षेत्रमा विगतदेखि नै आर्थिक सहयोग गर्दै आउनुभएको भन्दै सांसद मल्लप्रति सहभागीहरुले आभार व्यक्त गरेका थिए ।

नवमिर्मिरे युवा क्लबको हालै निर्माण हुन लागेको भवनका लागि प्रदेश सांसद मल्लले सांसद विकास कोषबाट रु ८ लाख बजेट विनियोजन गरेकोमा क्लबका अध्यक्ष छविकिरण भट्टराईले सांसद मल्लको सहयोगको खुलेर प्रसंसा गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि माननीय भागवत् प्रकाश मल्लले विजेता खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । उक्त प्रतियोगितामा प्रथम हुने कालिकोट स्पोर्ट युवा क्लबलाई रु १,५५०००। खिलुङ्गा क्लब गल्याङलाई रु ७५ हजार र तृतीय हुने गल्याङ युवा क्लबलाई रु ५० हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व  नवमिर्मिरे युवा क्लबका अध्यक्ष छविकिरण भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गौरब पाण्डेले र स्वागत मन्तव्य खेल संयोजक नारायण भट्टराईले गर्नुभएको थियो ।

 

0
Would love your thoughts, please comment.x
()
x