चापाकोटका पूर्व मेयर शिव गिरीको सवारी दुर्घटनाबाट मृत्यु

 By Khabar Bhandar
२०८० असार २, शनिबार ०७:२६  मा प्रकाशित

 

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी शुक्रबार राति निधन भएको छ ।

पुतलीबजार नगरपालिका–१०, बर्जामा सवारी दुर्घटना हुँदा चापाकोट नगरपालिका – ४ दार्सिङ घर भई हाल पुतलीबजारमा बस्दै आएका ६० वर्षीय गिरीको मृत्यु भएको हो ।

गए राति बालिङबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका – १० बर्जामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

पूर्ण रुपमा क्षति भएको स्कारपियोले गिरीलाई च्यापेको अवस्थामा स्थानीयहरुले उद्धार गरेको प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा परी सिकिस्त घाइते भएका गिरीलाई जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

गिरी नेपाली काङ्ग्रेसका प्रभावशाली नेताका रूपमा परिचित थिए । मेयरको रूपमा चापाकोट क्षेत्रमा विकास निर्माणको जग बसाल्ने काम गिरीले नै गरेका थिए ।

घटना पश्चात स्कारपियो चालक पुतलीबजार नगरपालिका – ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

0
Would love your thoughts, please comment.x
()
x