देशभर हल्कादेखि मध्यम वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

 By Khabar Bhandar
२०७८ कार्तिक २, मंगलवार ०८:४३  मा प्रकाशित

 

काठमाडौं। अहिले नेपालमा बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षासमेत भएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ। सुदूरपश्चिम तथा प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

भोलि बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्चपहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, ४ कार्तिक बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

0
Would love your thoughts, please comment.x
()
x