
युवराज पौडेल
पौडी खेल्ने क्रममा मादी नदीले बगाएर पोखरा महानगरपालिका वडा नं ३० शिशुवाका ४० वर्षीय बाबुराम अधिकारीको मृत्यु भएको छ । उनी लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ५ को मालिका आधारभूत विद्यालयमा निमावि तहमा कार्यरत विज्ञान शिक्षक थिए ।
भदौ ७ गते नेपाल बन्दका दिन उनी विद्यालयका स्टाफ साथीसँग पौडी खेल्न मादी नदीमा गएका थिए । पौडी खेल्ने क्रममा मादीको भेलले बगाएपछि उनको खोजी भएको थियो । उनीसहित अन्य ३ जना साथीहरु मध्यनेपाल स्थित दुई पिप्ले अन्तर्गत मादी नदी पार गरेका तर उनलाई भेलले बगाएर लगेको स्थानीय शिक्षक शरद न्यौपानेले बताए ।
खोलाले बगाएर मृत अवस्थामा रहेको उनको शव भदौ ८ गते व्यास नगरपालिका तनहुँस्थित बोते गाउँनजिकै भेटिएको थियो । उनको बुधबार जिल्ला अस्पताल दमौलीमा पोस्टमार्टम गरी पोखरा ३० भण्डारढिकस्थित मझुरीघाटमा अन्तेष्टि गरिएको छ । सहयोगी स्वभावका अधिकारीको अकल्पनीय निधनका कारण शिशुवा यतिबेला शोकमा डुबेको स्थानीय देवु भट्टराईले बताए ।