
५ जेठ, २०८०
स्याङ्जा संवाददाता ।
स्याङ्जा जिल्लाको पुतलीबजार ३ मा अवस्थित काजिमान हरिटीका माध्यमिक विद्यालयलमा सदा जस्तो आज शुक्रबार अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । यस अन्तर्गत आज अन्तरसदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विभिन्न सदनका गरि करिब दुई दर्जन विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
उक्त प्रतियोगितामा प्रथम स्थान ग्रिन ‘ए’ ले प्राप्त गरेको छ भने ग्रिन हाउस ‘बि’ दोस्रो भएको छ । ब्ल्यु हाउस ‘बि’ ले तृतीय स्थान प्राप्त गरेको विद्यालयकी अतिरिक्त क्रियाकलाप प्रमुख रीता शर्माले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि पुतलीबजार नगरपालिकाकी निवर्तमान प्रमुख (मेयर) सीमाकुमारी क्षेत्री र विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य सिद्धिमान हरियालीले टीका लगाई पुरस्कार दिनुभएको थियो । कार्यक्रममा प्रतिनिधि अभिभावकहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै निवर्तमान मेयर सीमा कुमारी क्षेत्रीले आफू शिक्षा क्षेत्रबाटै आएको हुनाले तथा मेयरका रूपमा रहँदा यस क्षेत्रका समस्याहरूबारे आफू जानकार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेयरको रूपमा मैले कुनै पनि शिक्षकहरूलाई आस्थाका आधारमा दुख दिने काम गरिन ।’ उहाँले भन्नुभयो, ‘यस विद्यालयमा नयाँ नेतृत्वले जिम्मेवारी पाएपछि विद्यालयले छोटो समयमा ठूलो परिवर्तन गर्न सफल भएको पाएकी छु । यो विद्यालयले प्रगति गरेको देख्दा मलाई निकै खुसी लागेको छ ।”
उहाँले थप्नुभयो, ‘पुतलीबजारको मेयरका रूपमा मेरो कार्यकालमा पनि यो विद्यालयको लागि सकारात्मक सहयोग गरेँ । तर तत्कालीन समयको प्रशासनिक नेतृत्वको असक्षमताका कारण विद्यालयले अपेक्षित गति लिन सकेन । ढिलो भए पनि विदयालयले सक्षम अध्यक्ष र प्रधानाध्यापक पाएको छ । योग्य शिक्षकहरू हुनुहुन्छ । शिक्षकहरूको खटाइ प्रशंसनीय छ ।” उहाँले विद्यालयको गुणस्तर अभिवृद्धिमा भोलिका दिनमा पनि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य सिद्धिमान हरियालीले अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकको एकता र मिहिनेतका कारण यस विद्यालयमा धेरै विद्यार्थी थपिएकोमा व्यवस्थापन समितिका अध्यक्ष, प्रअ तथा सम्पूर्ण शिक्षकहरूलाई बधाई दिनुभएको थियो ।
प्रधानाध्यापक ऋषिराम शर्माले आफ्नो कार्यकालमा सुरू गरिएका कामहरूको जानकारी गराउँदै आआफ्ना विषयका शिक्षकहरू आआफ्ना छुट्टै कोठामा बस्ने र विद्यार्थीहरू झोला बोकेर विषय र रूटिन अनुसार सम्बन्धित विषयगत शिक्षकको कोठामा घुमिरहने तर शिक्षक भने आफ्नै कोठामा बस्ने शिक्षणको फरक शैली प्रयोग गरिएको बताउनुभयो ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र गिरीले काजिमान हरिटीका माविले युवा इन्जिनियर अनुप श्रेष्ठको अध्यक्षतामा छोटो समयमा थुप्रै कामहरू गरी सयौं नयाँ विद्यार्थीहरू थपिनु सकारात्मक भएको बताउँदै आगामी दिनमा पनि सबै पक्षको एकता र साथमा विद्यालयले फड्को मार्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
पूर्व उपप्रधान मन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व उपसभापति गोपलमान श्रेष्ठका दाजु काजिमान श्रेष्ठ तथा भाउजुहरू हरिमाया र टीकाकुमारीले २०२७ सालमा स्थापना गरेको यो विद्यालय स्थापनाकालदेखि नै श्रेष्ठ परिवारजनको संरक्षकत्वमा छ । शैक्षिक सत्र २०८० मा विद्यालयमा अन्य विभिन्न विद्यालयका १२० जना भन्दा बढी नयाँ विद्यार्थी भर्ना भएर नियमित रूपमा पढिरहेको विद्यालयका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।