नेपाली लेखक संघ, स्याङ्जाको तेस्रो अधिवेशन सम्पन्न

 By Khabar Bhandar
२०७९ कार्तिक १२, शनिबार १८:५२  मा प्रकाशित

 

खबर भण्डार संवाददाता

नेपाली लेखक सङ्घ स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन शनिबार स्याङ्जाको लक्ष्मी स्मृति पुस्तकालयमा सम्पन्न भएको छ । नेपाली लेखक सङ्घको राष्ट्रिय महाधिवेशन गत वर्षको चैत १८ र १९ मा पोखरामा सम्पन्न भएको थियो । आगामी मंसिर १९ मा पोखरामा सम्पन्न हुन गइरहेको प्रदेश अधिवेशनको लागि विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गर्ने क्रममा स्याङ्जामा पनि अधिवेशन भएको हो ।

अधिवेशनमा उद्घाटन सत्रमा स्याङ्जाली साहित्यकार विश्वप्रेम अधिकारी र  देवीप्रसाद बनबासी, नेपाली लेखक सङ्घ गण्डकी प्रदेश संयोजक ईश्वरमणि अधिकारी, नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष सन्जिव पौडेल, कास्की उपाध्यक्ष रीता अधिकारी रितु लगायत स्याङ्जामा रहेर कलम चलाउने अन्य श्रष्टा तथा लेखकहरुको शुभकामना मन्तव्य तथा रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले नेपाली लेखक सङ्घ वीपी कोइराला, किसुनजी, बालकृष्ण सम, गोविन्द गोठाले लगायतका लोकतान्त्रिक लेखकहरुले स्थापना गरेको गौरवशाली सङ्गठन भएको बताउनुभएको थियो । साहित्यकार देवीप्रसाद बनवासीले लेखन साधना गर्नेहरु एक ठाउँमा हुनुपर्ने बताउनुभयो ।

स्याङ्जामा आज भएको अधिवेशनले नयाँ ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा युवा साहित्यकार मिलन समिर निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा युवराज सुवेदी र मनिषा कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यस्तै कार्यसमितिको सचिवमा युवराज पौडेल, कोषाध्यक्षमा कृष्णबहादुर गोदार, सहसचिवमा नारायण काफ्ले चयन हुनुभएको छ । सदस्यहरुमा राजु डुम्रे मार्मिक, बोधराज न्यौपाने, दुर्गा सारु, लोकहरि पाण्डे चयन हुनुभएको छ ।यसभन्दा अगाडि कुमार रानाको नेतृत्वमा नेपाली लेखक सङ्घ स्याङ्जाको कार्यसमिति चयन भएको थियो ।

नेपाली लेखक सङ्घ लोकतान्त्रिक विचार राख्ने लेखकहरुको सङ्गठन हो । नेपाली लेखक सङ्घ २००८ सालमा विश्वेश्वर प्रसाद कोइराला, ऋद्धिबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ लगायतका लोकतान्त्रिक श्रष्टाहरुले स्थापना गरेको प्रजातान्त्रिक लेखकहरुको सङ्गठन मानिन्छ ।

आजको कार्यक्रमको अध्यक्षता नेपली लेखक सङ्घका स्याङ्जाका अध्यक्ष कुमार रानाले, कार्यक्रमको सञ्चालन मिलन समीरले र स्वागत युवराज पौडेलले गर्नुभएको थियो ।

 

 

0
Would love your thoughts, please comment.x
()
x