नेपाल शिक्षक सङ्घ पुतलीबजारको अधिवेशनः अध्यक्षमा लेखनाथ शर्मा

 By Khabar Bhandar
२०७९ माघ २१, शनिबार २१:११  मा प्रकाशित

 

युवराज पौडेल
स्याङ्जा, माघ २१ ।

नेपाल शिक्षक सङ्घ स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको नगर कार्यसमितिको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । पुतलीबजारस्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयको हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

उक्त अधिवेशनको उद्घाटन काङ्ग्रेस स्याङ्जाका सभापति तथा प्रतिनिधि सभाका सांसद राजु थापाले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा शिक्षकहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले काङ्ग्रेस सरकारमा नजाँदैमा कमजोर नभएको भन्दै आज पनि काङ्ग्रेस नेपालको सबैभन्दा ठुलो शक्ति भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले शिक्षाको गुणस्तर अभिवृद्धिमा जुट्न सबै शिक्षकहरुलाई आह्वान गर्नुभयो । उहाँले आफु नगरभित्रका शिक्षकहरुको हकहितमा विना भेदभाव लागिरहेको बताउँदै सबै शिक्षकका समस्या समाधान हुने भएकाले कक्षाभित्रको पठनपाठन राम्रो गर्नेतिर लाग्न सुझाव दिनुभयो ।

अधिवेशनमा नेपाली काङ्ग्रेस पुतलीबजार नगर सभापतिका अध्यक्ष सुरजकुमार अधिकारी, काङ्ग्रेस महासमिति सदस्य अनुप श्रेष्ठ, पुतलीबजार नगर शिक्षा शाखाका प्रमुख बाबुराम बराल, गण्डकी प्रदेशका नेका संसदीय बोर्डका सदस्य कुमबहादुर गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका सदस्य मुक्ति रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो ।

पुतलीबजार नगर समितिका कार्यवाहक अध्यक्ष अर्जुन पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद लामिछाने र स्वागत  मनबहादुर रोकाले र आर्थिक प्रतिवेदन अर्थसचिव मिनादेवी ढकालले गर्नुभएको थियो ।

कार्य कार्यक्रममा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सड्गठनका जिल्ला सचिव तथा त्रिभुवन आदर्श माध्यमिक विद्यालयका शिक्षक शिव ढकाल नेपाल शिक्षक सङ्घमा प्रवेश गर्नुभएको छ ।

अधिवेशनको दोस्रो कार्यक्रम बन्द सत्रमा नयाँ कार्यसमितिको चयन गरिएको पुतलीबजार शिक्षक सङ्घका निर्वतमान अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

नयाँ कार्यसमितिको अध्यक्षमा लेखनाथ शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने महिला उपाध्यक्षमा मीनादेवी ढकाल, उपाध्यक्षमा रामचन्द्र उपाध्याय, सचिवमा कृष्ण लामिछाने, सहसचिवमा नारायण रेग्मी, अर्थसचिवमा लोकनाथ घिमिरे, सहसचिवमा सरिता रेग्मी निर्वाचित हुनुभएको निर्वाचन कमिटीका प्रमुख संयोजक मुक्ति रेग्मीले बताउनुभयो ।

त्यस्तै खुला सदस्यहरुमा कोमल लामिछाने, माधव पोख्रेल, सुकदेव रेग्मी, राजेन्द्रप्रसाद लामिछाने, सीतादेवी शर्मा, हरिकृष्ण शर्मा, माधवप्रसाद रेग्मी, भगवती पङ्गेनी, विष्णु रेग्मी, ताराकुमारी पौडेल, लक्ष्मीनारायण कोइराला निर्वाचित हुनुभएको छ ।

 

0
Would love your thoughts, please comment.x
()
x