
रामपुर। नेवा:समाज रामपुरले सामुहिक बेल विवाह (इहि) कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले आइतवार पत्रकार भेटघाट कार्यक्रम गरि वैशाख ८ गते देखि १० गते सम्म सामुहिक बेल विवाह तथा बटुक ( कुमारहरुको व्रतबन्ध) कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो ।
समाजले नेवारी परम्परामा किशोरहरुको व्रतबन्ध र रजस्वला हुनु अघि कन्याहरुको बेल विवाह गर्नुपर्ने संस्कार अनुरुप १ सय ५० बढि कन्याहरुको बेल विवाह र २० जना बढी कुमारहरुको व्रतबन्ध गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको बारेमा जानकारी गराउँदै नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले वि सं २०६२ देखि नै समय समयमा बेल बिबाह कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले आफ्नो कला संस्कृतिको जगेर्ना र भावि पुस्तालाई सिकाउने अभिप्रायका साथ काठमाडौबाट आउने राज पुरोहितहरु मार्फत कार्यक्रमको विधि सञ्चालन गरिने जानकारी दिनुभयो ।
यस्तै नेवा समाज रामपुरका मुख्य सल्लाहाकार राजु प्रसाद श्रेष्ठले कार्यक्रमले रामपुरमा नेवार समुदायको वाहुल्यता कम भए पनि संस्कृतिको संरक्षणको लागि सक्रिय छ भन्ने सन्देश दिने बताउनुभयो ।
उक्त पत्रकार भेटमा समाजले आर्थिक अभावका कारण कोहि पनि बेल बिबाह र बटुक बन्नबाट टाढा हुन नहुने भन्दै आर्थिक अवस्था हेरि सहयोग गर्ने जनाएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्नको लागि १५ लाख बढी खर्च हुने आंकलन छ । उक्त रकम कन्या, बटुक र अभिभावक ले दिने दानबाट व्यवस्थापन गर्ने जनाइएको छ ।
१३७ घर परिवार सम्माहित रहेको रामपुर नेवा समाजले सबैको सक्दो सहभागितामा कार्यक्रम सम्पन्न गर्ने जनाएको छ । कार्यक्रममा कुमारहरुको ब्रतबन्ध बैशाख ८ गते र कन्याहरुको विवाह ९ र १० गते नहर अफिस बगैचामा हुनेछ ।
कार्यक्रममा पाल्पा सहित छिमेकी जिल्ला स्याङ्जा, तनहुँ, नवलपुर, कास्की, रुपन्देही सहित विभिन्न जिल्लाबाट सहभागिता रहने जनाइएको छ।
समाजले विभिन्न उपसमिति गठन गरि कार्यक्रमको तयारीलाई तीव्रता दिएको छ । सुकमाया श्रेष्ठको नेतृत्वमा पुजा व्यवस्थापन उप समिति, बिनोद श्रेष्ठको संयोजकत्वमा खान व्यवस्थापन उप–समिति, प्रेम प्रकाश श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार उपसमिति,रुद्र नारायण श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, सुनिल श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक तथा सुरक्षा उपसमिति, राजकुमार श्रेष्ठको संयोजत्वमा आर्थिक व्यबस्थापन समिति, चन्द्र कुमार श्रेष्ठको संयोजकत्वमा पानी व्यबस्थापन उपसमिति, श्यामकुमार श्रेष्ठको संयोजकत्वमा मञ्च व्याबस्थापन उपसमिति, आशोक श्रेष्ठको संयोजकत्वमा भिडियो तथा कार्ड व्यवस्थापन उपसमिति, रितुमान श्रेष्ठको संयोजकत्वमा कपडा व्यवस्थापन उपसमिति, पुन नारायण श्रेष्ठको संयोजकत्वमा होटल व्यबस्थापन उपसमिति, नन्दलाल श्रेष्ठको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति गठन गरेर तयारी अघि बढाएको समितिले जनाएको छ ।
नेवार समुदायका युवतीले बेलसंग विवाह गरे पश्चात सिन्दुर लगाउन पाउने छन् भने श्रीमानको निधनपछि पनि सिन्दुर र रातो बस्त्र लगाउन पाउँने प्रचलन रहेको छ ।