पीडामाथि झन पीडाः शव जलाउन नपाएछि घर अगाडि नै गाडियो

 By Khabar Bhandar
२०७८ जेष्ठ ५, बुधबार १०:५१  मा प्रकाशित

युवराज पौडेल

स्याङ्जा, जेठ ५ , २०७८

स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबासको पोखराचौरमा एक ९३ वर्षीया वृद्ध महिलाको जेठ ४ गते बिहान करिब ७ बजेतिर मृत्यु भयो ।

उहाँ विगत दुई वर्षदेखि विस्तारामा पर्नुभएको थियो । दिसापिसाब पनि तर्काउन कठिन भइरहेको थियो । यसैबिच उहाँका छोराबुहारीको ठीक एक दिन अगाडि सोमबार पिसिआर परीक्षणमा नतिजा पोजेटिभ आएको थियो । सायद उनीहरुलाई (छोराबुहारी) पोजेटिभ आएको भनेर गाउँले छिमेकीहरु त्रसित भइरहेका थिए । यही समयमा सोही घरकै वृद्धको मृत्यु भएपछि स्थिति खराब भइदियो । मृत्यु भएपछि नदेखिनु पर्ने दृश्यहरु देखिए । मृत्यु भएपछि पहिलो काम हुन्छ शव दाहसंस्कारको । पहिले त्यही कामको प्रयास भयो ।

अलिकति मानवता भएक एकदुई छिमेकीहरुले मृतकको शवलाई दाहसंस्कारका लागि आँधीखोलामा लैजाने प्रयास गरे । तर छिमेकी र खोला वरिपरिका गाउँलेहरुको अवरोधले आँधीखोलामा कतै पनि शव जलाउने स्थिति बनेन । शव जलाउने विषयमा दिनभरिजसो नै माथापच्चिसी भयो । विवाद भइरह्यो । जलाउँदा हावाबाट पनि कोरोना सर्छ भन्ने भ्रम पालेका छिमेकीले शव कतै पनि जलाउन दिएनन् ।त्यहाँ अन्य वरिपरिका घाटहरुमा लैजाने प्रयास दिनभरिजसो नै भयो ।

अन्तिममा गाउँपालिकामा सूचना गरेपछि गाउँपालिकाको टोलीले शव दाहसंस्कारका लागि अनेक प्रयास गर्‍यो । प्रहरी र स्वास्थ्यकर्मीसहितको टोलीले शव व्यवस्थापनका लागि अनेक प्रयास गरिरह्यो तर छिमेकी र गाउँलेहरुले अवरोध गरिरहे । विवाद र झगडा जस्तो भइरह्यो । जलाउने ठाउँ नपाएपछि खाल्डो खन्ने कुरा भयो । खाल्डो खन्ने मान्छे पाउन गाह्रो भयो । बल्ल बल्ल खाल्डो खनेपछि शव लैजाने सवारीको साधन खोज्दा कोही पनि लैजान तयार भएनन् ।

सग्लो दिन विवादमै बित्यो । मृतकको लास आँगनमा कति राख्ने । रात पर्न थाल्यो । अन्त्यमा अनेक प्रयास गर्दा पनि केही सीप नलागेपछि स्वास्थ्यकर्मीले शव उठाएर मृतकको घर अगाडि नै गाडे । बिहान ७ बजेतिर मृत्यु भएको शव विवादकै कारण साँझ साढे सात बजेतिर मात्र गाडियो ।

मृतकका छोराबुहारी छिमेकीका सबै व्यवहारहरु आगनको डिलमा टुक्रुक्क बसेर हेर्न बाध्य भए । ‘आमा मर्नुको पीडा त छँदैछ तर आमालाई जलाउन समेत नपाउँदाको पीडा कस्तो भए होला तपाईँ आफै कल्पना गर्नुहोस् ।’ स्थानीय एक समाजसेवी भन्छन् । रात पर्ने बेलासम्म आमाको लास आँगनमा राखेर छिमेकी र समाजको नचरी हेर्न बाध्य भए छोराबुहारी ।

‘बुबाआमालाई पिसीआरमा पोजेटिभ आए पनि स्वास्थ्य अवस्था सामान्य नै थियो । लामो समयदेखि थलिनुभएकी हजुरआमाको मृत्यु हुनु जति पीडादायी थियो, त्यो भन्दा छिमेकीको व्यवहार बढी पीडादायी भयो ।’ मृतककी नातिनी मीना ढकालले खबर भण्डारसँग भनिन् । ‘गाउँलेले खोलामा जलाउन पनि नदिँदा दुःख लाग्यो ।’ उनले भनिन्, ‘हाम्रा दाजुभाइ बाहिर हुनुहुन्छ, छिमेकीले शव देख्दै छिछि र दुरदर गर्नुभयो ।

स्थानीय गाउँले युवा कृष्ण क्षेत्री अमृत भन्छन् ‘अन्तिममा खाल्डो खनेर गाड्नका लागि खोला किनारमा प्रयास गरियो । तर टेक्टरको ड्राइभर नै शव लान मानेनन् ।’ एकातिर मिलाउँदा अर्कोतिर नमिल्ने भइरह्यो । एक जनालाई बल्ल बल्ल मनायो फेरि अर्को बाङ्गिन्छ । यस्तो स्थिति दिनभरि नै भइरह्ययो ।

गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले भनिन् ‘आफन्तले पनि शव छुन मानेनन्, केही सीप नलागेर गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले नजिकैको सामुदायिक भवन नजिकैको खाली ठाउँमा गाड्नुपर्‍यो ।’ उनले भनिन्, यो घटना कोरोनासँगै मानवीय भावना र संवेदना समाप्त भएको एउटा ज्वलन्त उदाहरण हो ।’ उनले खबर भण्डारलाई बताए अनुसार यस्तै प्रकृतिको घटना आँधीखोला ५ को सेपत भन्ने गाउँमा पनि भएको छ ।’स्थानीय युवा हरि ढकाल भन्छन्, ‘कोरोना भएको घरलाई छिछि र दुरदुर गर्ने प्रवृत्ति देखियो । यसले समाजलाई कता लैजान्छ भन्न सकिँदैन ।’

युथ अफ आँधीखोलाका अध्यक्ष युवा समाजसेवी हरि ढकालले भन्छन्, ‘खोला किनारमा स्वास्थ्य मापदण्ड पालन गरेर शव व्यवस्थापन गर्न कुनै समस्या हुने अवस्था थिएन । तर जे भयो त्यो दुर्भाग्यपूर्ण भयो ।’ उनले भने अब हामी युवाहरु आफै पिपिइ लगाएर मैदानमा उत्रन्छौँ । कसैले नछोएका शव हामी व्यवस्थापन गर्छौँ ।’

सुन्दा सामान्य लागे पनि यो घटना अमानवीय प्रवृत्तिको छ । पहिलो कुरा त मृतकको पिसीआर परीक्षण नभएकाले उनलाई कोरोना थियो वा थिएन स्पष्ट थिएन । दोस्रो उनलाई कोरोना भएको भए पनि कोरोनाबाट मृत्यु भएकाको शव जलाउन नहुने कुनै वैज्ञानिक कारण थिएन । यसबाट कोरोनाबाट समाज बढी नै त्रसित भएको देखिन्छ भने कोरोनाका सम्बन्धमा समाजमा भ्रम व्यप्त छ भन्ने पनि स्पष्ट देखिन्छ । यस्तो भ्रमलाई चिर्नु त आवश्यक छँदैछ साथै शवको उचित व्यवस्थापनमा अवरोध गर्नेलाई कानुनी दायरामा समेत ल्याउनु आवश्यक देखिएको छ ।

0
Would love your thoughts, please comment.x
()
x