पुतलीबजारको डेंगीसम्बन्धी अभिमुखीकरण तथा ‘लार्भा खोज र नष्ट गर’ अभियान

 By Khabar Bhandar
२०७९ आश्विन १४, शुक्रबार १५:५२  मा प्रकाशित

 

स्याङ्जा, असोज १४
युवराज पौडेल । 

डेंगी सङक्रमण रोकथामका लागि सरोकारवाला निकायसँग नगरस्तरीय अभिमुखीकरण तथा ‘लार्भा खोज र नष्ट गर अभियान’ कार्यक्रम पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डेंगी रोगसँग सम्बन्धित विभिन्न पक्षको उपस्थिति थियो । कार्यक्रममा पुतलीबजार नगरपालिका अन्तर्गतका १, २, ३, ४  र १० नम्बर वडाका वडाध्यक्षहरु, नगरपालिकाभित्रका विभिन्न कार्यालयका स्वास्थ्यकर्मीहरु, बजार क्षेत्रका वडाका टोल विकास संस्थाका संयोजक र सचिवहरुको उपस्थिति थियो ।

हाल देशभरि बढ्दै गइरहेको डेंगु रोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरुका बिचमा छलफल गरी समाधानका उपायहरुमा आधारित भएर गरिएको सो अभिमुखीकरणमा स्वास्थ्य विशेषज्ञहरुले डेंगु रोगका बारेमा जानकारी दिनुभएको थियो । डेगु रोग कसरी सर्छ, यसबाट बच्ने उपाय के के हुन्, रोग लागिसकेपछि उपचार कसरी गर्ने र समुदायमा रोग फैलिन नदिन समुदायको भूमिका के हो भन्ने विषयमा उक्त अभिमुखीकरण केन्द्रित रहेको जनस्वास्थ्य अधिकृत मित्रप्रसाद अर्यालले जानकरी दिनुभयो ।

डेंगी रोगबाट सङक्रमित ‘एडिज’ जातको लामखुट्टेको टोकाइबाट मात्र सर्ने, यसले सफा पानीमा फूल पार्ने भएकाले टायर, कप, गिलास, गमला, बाल्टी जस्ता भाँडामा भएको पानी सफा गर्ने वा त्यस्ता वस्तुहरु नष्ट गर्ने विधिहरुका विषयमा कार्यक्रममा जानकारी दिइएको थियो ।

पानी जम्ने भाँडाहरुमा एडिज जातको लामखुट्टेको लार्भा हुन सक्ने भएकाले त्यसका लार्भालाइ नष्ट गर्ने अभियान पुतलीबजारमा आजैबाट सुरु भएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । उहाँले डेंगी रोगको सङ्क्रमणबाट बच्नका लागि जनस्वास्थ्य र सचेतताका उपायहरुमा ध्यान दिन र रोग लागिहालेमा उपचारका लागि अस्पतालमा जान सबै नागरिकलाई अनुरोध समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘डेंगी समुदायमा फैलिन नदिन हामी सबैको सचेतता र सहयोग आवश्यक छ । पुतलीबजार नगरपालिकाले ‘डेंगी खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । सबै मिलेर अभियान सफल पार्न अनुरोध गर्दछु ।’

कार्यक्रममा सबै वडाध्यक्षको तर्फबाट वडा नं १० का वडाध्यक्ष अग्नि पौडेल र टोल विकासका तर्फबाट वडा नं १ का टोल विकास संयोजकले कार्यक्रममा सिकेका कुरा समुदायमा गएर लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय स्याङ्जाका परिवार नियोजन अधिकृत मित्रप्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगरपालिकाकी जनस्वास्थ्य अधिकृत अनिता सुवेदीले र कार्यक्रमको स्वागत ईश्वर बहादुर थापाले गर्नुभएको थियो ।

स्याङ्जामा हालसम्म ८८ जनालाई डेंगी सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । तीमध्ये सबैभन्दा बढी गल्याङ नगरपालिकामा ४४ जनालाई देखिएको छ । पुतलीबजार नगरपालिकामा हालसम्म ७ जनामा डेंगी सङ्क्रमण देखिएको कार्यालयले बताएको छ ।

 

0
Would love your thoughts, please comment.x
()
x