
युवराज पौडेल, ०९ फागुन ।
४ हजार ५ सयभन्दा बढीको आँखा परीक्षणसहित सयौंको मोतियाविन्दुको शल्यक्रियासहित देशकै सबैभन्दा बृहत् आँखा शिविर सञ्चालन गर्ने पहिलो पालिका स्याङ्जाको पुतलीबजार नगरपालिका बनेको आयोजकले दाबी गरेका छन् । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविर माघ महिनाको १५ गतेदेखि फागुन ६ सम्म चलेको थियो ।
उक्त बृहत् आँखा शिविरमा झण्डै ४ हजार ५ सय जनाले आँखा परीक्षण गराएका थिए । तीमध्ये ९ सय २ जनालाई निशुल्क चस्मा उपलब्ध गराइएको छ भने हजारभन्दा बढीलाई निशुल्क औषधी वितरण गरिएको छ ।
बृहत् आँखा शिविर कार्यक्रमका संयोजक डा. विशाल गुरुङले भन्नुभयो, ‘१४ वटा वडामै यति बृहत् स्तरको आँखा शिविर पहिलो पटक सञ्चालन भएको नगरपालिका पुतलीबजार नगरपालिका बनेको छ ।’
शिविरमा आएका मध्ये १ सय ५३ जनामा मोतियाबिन्दु देखिएको थियो । मोतियाबिन्दु देखिएकालाई शल्यक्रिया गरिएको छ । मोतियाबिन्दुका रोगीमध्ये १०० जनाको शल्यक्रिया गरिएको र बाँकी ५३ जनालाई नगरपालिकाले नै पोखरासम्म पु¥याउने व्यवस्था मिलाएको हो ।
मोतियाबिन्दु शल्यक्रियाका लागि डा. हरिविक्रम अधिकारी, डा. अस्मिता लामिछाने, लगायतको चिकित्सकीय एवं प्राबिधिक टोली खटिएको नगर स्वास्थ्य प्रमुख भवानीशंकर पोखरेलले जानकारी दिनुभयो
करिब २० दिनसम्म चलेको बृहत् आँखा शिविर कार्यक्रमको समापन शनिबार पुतलीबजारको देवानचोकस्थित भुपू सैनिक आवासीय विद्यालयमा एक औपचारिक समारोहका बिचमा सम्पन्न भएको छ ।
सो शिविरको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले बृहत् निशुल्क आँखा शिविर सञ्चालन गरेर दृष्टिदान जस्तो पुण्यको काम गर्ने पुतलीबजार नगरपालिकासहित सबै सरोकारवालालाई धन्यवाद दिनुभयो । उहाँले पुतलीबजार नगरपालिकाले देखाएको उदाहरणीय र अनुकरणीय कार्यको जिल्लाका सबै पालिकाले अनुकरण गर्नु आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले स्याङ्जाबाट रोजगारका लागि विदेशमा पुगेका एनआरएनए लगायतका संस्थाहरुको यस्ता परोपकारी कार्यमा महत्वपूर्ण सहयोग पु¥याइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले दृष्टि प्रदान गर्ने चिकित्सक भगवान्सरह रहेको बताउदै सांसद थापाले आगामी दिनमा पनि यस्ता खालका प्रत्यक्ष लाभपुग्ने खालका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
नेपालमा पहिलो पटक यस्तो अभियान पुतलीबजार नगरपालिकाले संचालनमा ल्याएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुतलीबजार नगरपालिकाभित्रका नागरिकले कसैले पनि मोतियाबिन्दुको समस्या भोग्नु नपरोस् भन्ने हाम्रो उदेश्य हो ।’
कार्यक्रममा नेत्रज्योति संघका केन्द्रिय सभापति प्रा. डा. चेतराज पन्त, प्रदेश सभापति प्रा. डा. दिलबहादुर क्षेत्री, स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्मा, शिविर संयोजक डा. विशाल गुरुङ लगायतले मोतियाबिन्दु नेपाल तथा स्याङ्जाको अवस्था र शिविरको प्रभावकारिताका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत अनिशा सुवेदीले स्वागत र रेडियोकर्मी विक्रम सम्बतले संचालन गर्नुभएको थियो ।