
युवराज पौडेल/वैशाख २९
स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनजिवनसँग जोडिएका विभिन्न विषयमा महत्वपूर्ण निर्णय गरेको छ । आज शुक्रबार बसेको कार्यपालिकाको ८७ औँ बैठकद्वारा यस्ता विभिन्न निर्णयहरु गरिएको हो ।
सङ्घीय सरकारले धमाधम बजेट कटौती गरिरहेको समयमा आवश्यक पर्ने बाहेकका तालिम, अभिमुखीकरण, गोष्ठी, सेमिनार र क्षमता विकास जस्ता शीर्षकमा रहेको बजेट खर्च कटौती गर्ने निर्णय गरेको छ।
त्यस्तै स्याङ्जा बजार क्षेत्रभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सिद्धार्थ राजमार्गभित्र पर्ने पुतलीबजारका मुख्य बजार क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल तथा इन्टरनेट तार अव्यवस्थित रहेको भन्दै नगर कार्यापालिकाले सम्बन्धित पक्षलाई निर्देशन गरेको नगर प्रवक्ता मनोज पौडेलले बताउनुभयो ।
‘हामी पहिला कार्यपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्छौँ । नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।’ बैठकपछि बोल्दै नगर प्रमुख तुलसी रेग्मीले बताउनुभयो । यदि सरोकारवाला निकायले नगर कार्यपालिकाले गरेको निर्णयलाई वेवास्ता गरेमा नगरपालिकाले कानुन अनुसार निर्णय लिन पछि नपर्ने उहाँको भनाइ थियो ।
बजार क्षेत्रभित्र सडकको दायाँ र बाँया बजारको सौन्दर्य नै कुरुप बनाउने गरी जथाभावी तारहरु झुण्डिरहेको र कुनै पनि बेला आगलागीको सम्भावना रहेको अवस्थालाई मध्येनजर गर्दै पुतलीबजारले यस्तो निर्णय गरेको हो ।
त्यस्तै स्याङ्जा बजारको अव्यवस्थित खानेपानीको उपयुक्त व्यवस्थापन गर्न सरोकारवाला निकाय, उपभोक्ता समिति लगायतसँग छलफल गरी बजार क्षेत्रभित्र खानेपानी पुर्याउने समेत कार्यपालिका बैठकले निर्णय गरेको छ । फुटपाथ एवम् सडक पेटीमा राखिएका सामान र मापदण्ड विपरितका विज्ञापनका होडिङ बोर्डहरु पनि हटाउने निर्णय गरिएको पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो ।
बजार क्षेत्रभित्र मान्छे हिँड्ने फुटपाथमा सामान बेच्ने चलनले मानिसलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । प्रवक्ता पौडेलले भन्नुभयो, ‘मापदण्ड विपरित राखिएका विज्ञापन र होर्डिङ बोर्डले बजारको सौन्दर्य बिगारेको छ यसलाई हटाउनुपर्छ ।’
नगरपालिकाले आफ्नो क्षेत्राधिकारलाई प्रयोग गरी नगर कार्यपालिका बैंठकद्वारा नै यस्तो महत्वपूर्ण निर्णय गरिएको नगर प्रमुखका स्वकीय सचिव गौतम गिरीले बताउनुभयो ।