
२०८० वैशाख १०
नेपाली काङ्ग्रेस स्याङ्जाका युवा नेता तथा पूर्व सांसद भागवत् प्रकाश मल्लले आगलागीबाट घर जलेका चापाकोट १ खोलागाउँका पीडितहरुलाई आर्थिक सहयोग गर्नुभएको छ । स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं १ खोलागाउँमा वैशाख ७ गते विष्णुप्रसाद भट्टराईको घरमा आगलागी भएर घर नष्ट भएको थियो । घरदेखि तल जङ्गलबाट फैलिएको आगो एक्कासी घरमा सल्किएपछि घर नष्ट भएको थियो ।
आगलागीपछि वालिङबाट दमकल बोलाई निभाउने प्रयास गरिएको तर घरका सरसामान जोगाउन नसकिएको चापाकोट वडा नं १ का काङ्ग्रेसका सभापति कृष्णप्रसाद भण्डारीले बताउनुभयो । आगलागीबाट भट्टराईको घर पूर्ण रुपमा जलेको छ । घरभित्रका भाँडाकुँडा लगायतका सामग्री सबै आगोले नष्ट भएका छन् ।
यतिबेला भट्टराईको ५ जनाको परिवार घर डढेपछि सङ्कटमा परेको छ । शनिबार आगलागी भएको स्थलमै पुगी सांसद मल्लले पीडितलाई नगद आर्थिक सहयोग गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई यस सम्बन्धमा टेलिफोनमा कुरा गर्नुभएको पीडित भट्टराईले बताउनुभयो । पीडित भट्टराईले भन्नुभयो, ‘यसरी माननीयज्यू घरमै आएर आर्थिक सहयोग गर्नुका साथै दुःखमा परेको बेला हामी छौं नआत्तिनोस् भन्नुभयो । थोरै भए पनि दुःख कम भएको महसुस भएको छ ।’