प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला अस्पताल स्याङ्जाको आकस्मिक अनुगमन

 By Khabar Bhandar
२०७९ आश्विन ३०, आईतवार २१:१०  मा प्रकाशित

 

खबर भण्डार संवाददाता

स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जिल्ला अस्पताल स्याङ्जाको आज आकस्मिक अनुगमन गर्नुभएको छ ।

जिल्ला अस्पतालको अनुगमनका क्रममा उहाँले ओपिडी, प्रयोगशाला, आकस्मिक कक्ष, हिंसापीडितहरुको लागि अस्पतालमा आधारित लैङगिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), फार्मेसी आदिको अनुगमन गर्नुभएको छ । उहाँले मृगौला पीडितहरुको लागि डायोलाइसिस सेवाको अवस्थाबारे जानकारी लिनुभएको थियो । ब्लड बैङ्क र ब्लड ब्यागको अवस्थाका सम्बन्धमा प्रजिअ क्षेत्रीले चासो राख्नुभयो ।

अनुगमनमा प्रजिअसँगै सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी, नेपाल रेडक्रस सोसाइटीका स्याङ्जाका सभापति दिनेश अर्याल, हिमालय टाइम्सका पत्रकार युवराज पौडेल लगायतको सहभागिता थियो ।

अनुगमन टोलीले अस्पतालको आन्तरिक व्यवस्थापन तथा जनताले पाउने सेवा सुविधाको स्थितिका बारेमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रमेश आचार्यसँग जानकारी लिएको थियो ।

अनुगमनका क्रममा अस्पतालमा ब्लड बैङ्क र ब्लड ब्यागको व्यवस्था गरिएको, अक्सिजन प्लान्ट सञ्चालन भइरहेको, स्वास्थ्य बिमाको सेवा उपलब्ध भइरहेको, हिंसापीडितहरुका लागि लैङ्गिक हिंसा सम्बन्धी ‘अस्पतालमा आधारित एकद्वार सेवा केन्द्र’ सुरु भएको, मृगौला पीडितहरुका लागि डायलिसिस सेवा पनि चलिरहेको पाइएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । क्षेत्रीले बिरामीहरुलाई सरल र सहज तरिकाले सेवा उपलब्ध गराउनेतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले आकस्मिक अवस्थामा तोकिएको भन्दा बढी सेवा दिने सकिने गरी आन्तरिक व्यवस्थापन गर्न समेत निर्देशन दिनुभयो ।

सहायक प्रजिअ नमिता रेग्मीले अस्पतालको व्यवस्थापन विगतमा भन्दा अहिले सुधारोन्मुख रहेको अनुगमनमा पाइएको बताउनुभयो । उहाँले अझै सेवाका क्षेत्र विस्तार गर्नुपर्ने र अस्पतालमा आएका बिरामीलाई सेवा छिटो छरितो दिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

अस्पतालका प्रमुख रमेश आचार्यले विगतमा भन्दा अहिले अस्पतालमा विभिन्न सेवा सुविधाका क्षेत्र थपिएका, आँखा उपचार, दाँतको उपचार प्रभावकारी बनाइएको तथा नयाँ प्रयोगशाला बनेको, ओसिएमसीको सेवा प्रारम्भ गरिएको बताउँदै अस्पतालको गुणस्तर अभिवृद्धिको प्रयास भइरहको बताउनुभयो ।

 

0
Would love your thoughts, please comment.x
()
x