
युवराज पौडेल, पौष २५ ।
फोटोग्राफर मञ्च स्याङ्जाको प्रथम साधारण सभा वालिङ नगरपालिका ११ स्थित बाहुनथानमा सम्पन्न भएको छ ।
जिल्लाभरका ११ वटा स्थानीय तहमा आफ्नो फोटोग्राफर व्यवसाय सञ्चालन गरेर बसेका सम्पुर्ण व्यावसायीहरुको साझा मञ्चको रूपमा रहेर व्यावसायीहरुका समस्याहरुलाइ सहजीकरण गर्ने र उनीहरूको हकहितमा काम गर्ने उद्देश्यले उक्त संस्थाको स्थापना गरिएको सहभागीहरूले बताएका छन्।
खुला सत्रको कार्यक्रममा उक्त संस्थाका अध्यक्ष बिमल खनालले सभाध्यक्षको रूपमा ब्यानरमा लेखिएका शब्दहरूलाई वाचन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
संस्थाको तर्फबाट स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ढाकाराम खनालले दिनुभएको थियो । समाचार लेखक नारायण भण्डारीले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । वक्ताको रूपमा प्रेम प्रसाद पराजुली, हिमाल न्यौपानेले पनि संस्थाको बारेमा आफ्नो भनाइहरु राख्नुभएको थियो ।
उक्त संस्थाको वार्षिक लेखा प्रतिवेदन कोषाध्यक्ष प्रदीप पाठकले प्रस्तुत गर्नु भएको थियोे भने समग्र संस्थाको बारेमा अध्यक्षले आफ्नो अध्यक्षको प्रतिवेदन पेश गर्नु भएको थियो।
उक्त सभाबाट १५ सदस्यीय कार्य समिति गठन गरिएको छ । अध्यक्ष बिमल खनाल, वरिष्ठ उपाध्यक्ष ढाकाराम खनाल, उपाध्यक्ष हिमाल न्यौपाने, सचिव बाबुराम रेग्मी, सहसचिव नरेश रोका, कोषाध्यक्ष प्रदीप पाठक, सह कोषाध्यक्ष विकास खाण निर्वाचित हुनुभएको छ ।
कार्य समिति गठन पश्चात् लेखा परीक्षक छनोट, लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । साथै अध्यक्षबाट आगामी ३ बर्षको कार्यकालमा गरिने नीति तथा कार्ययोजना समेत पेस गरि सर्वसम्मतिले पारित गरिएको नारायण भण्डारीले बताउनुभयो ।