
युवराज पौडेल/ वैशाख १६
आगामी वैशाख २६ बाट सञ्चालित हुने कक्षा १२ को परीक्षामा स्याङ्जाबाट २१ केन्द्रका ४ हजार ५ सय २८ परीक्षार्थी सहभागी हुँदै छन् ।
बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने उक्त परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा नजिकिँदै गर्दा स्याङ्जामा केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । २१ वटा विद्यालयका केन्द्राध्यक्ष र सहायक तथा कर्मचारीलाई प्रदेश परीक्षा व्यवस्थापन कार्यालय , गण्डकी प्रदेशका निमित्त निर्देशक लक्ष्मण दवकोटा र शाखा अधिकृत तुलसीराम वस्तीले सहजीकरण गर्नुभएको थियो ।
स्याङ्जाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको उक्त अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेश परीक्षा बोर्डका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विश्वराज आचार्य, पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम बराल, जिल्ला प्रहरी कार्यालयका प्रमुख सञ्जयबहादुर राउत, राष्ट्रिय अनुसन्धानका एसपी मनोज ढकाल, सशस्त्र प्रहरी स्याङ्जाका प्रमुख राजनलाल श्रेष्ठसहितको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले परीक्षा भयरहित, शान्त र मर्यादित बनाउनका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले परीक्षाका लागि केन्द्र तोकिइसकेको र सबै तयारी भएको पनि बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख विश्वराज आचार्यले विद्यार्थीले सहज रूपमा खुसी भएर परीक्षा दिने वातावरण बनाउन केन्द्राध्यक्षहरूलाई निर्देशन दिनुभएको थियो ।
सहभागी केन्द्राध्यक्षहरूले अनलाइनबाट परीक्षाको प्रश्नपत्र परीक्षा सुरू हुनभन्दा आधा घण्टा अगाडि मात्र पाउने कुराले समस्या हुन सक्ने भएकाले बोर्डले नै प्रश्नपत्र बनाउन सुझाव दिएका थिए ।
सहभागी त्रिभुवन आदर्श माध्यमिक विद्यालयका प्रअ मुक्ति रेग्मीले कोभिडको विशेष अवस्थामा अनलाइनमा प्रश्न पठाउने कुरा ठिक भए पनि अहिले सामान्य अवस्थामा पनि अनलाइनमा प्रश्न पठाउँदा धेरै समस्या हुनसक्ने बताउनुभएको थियो ।
ज्योति आवासीय माविका प्रिन्सिपल बुद्धिसागर त्रिपाठीले पनि अनलाइनमा प्रश्न पठाउँदा गोपनियता कायम गर्न कठिन हुने, बत्ती गएको बेला परेमा समयमा परीक्षा सञ्चालन गर्न समस्या हुने भएकाले राष्ट्रिय परीक्षा बोर्ड यसमा गम्भीर बन्नुपर्ने बताउनु भयो ।
यस वर्ष कक्षा १२ का ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरू १४ सय ५३ वटा विद्यालय केन्द्रबाट वार्षिक परीक्षामा सहभागी हुने छन् ।