
चिसो निकै बढिसकेको छ। चिसोसँगै शरीरमा हुने समस्या पनि बढेका छन्। रुघा, खोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै प्रेसर बढ्ने, मुटुरोग आदि पनि बढ्दो छ।

चिसोमा धेरै देखिने अर्को समस्या हो हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ।
यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।
बाथ रोग शरीरका स–साना जोर्नीमा दुखाइबाट सुरू हुने समस्या हो। दुखाइ बढ्दै गए दैनिक जीवन नै कष्टकर बन्छ र सामान्य हिँडडुलमा पनि समस्या हुन थाल्छ।



के हो युरिक एसिड?
हाम्रो रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो। यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ। यसलाई मिर्गौलाले पिसाबबाट बाहिर निस्कासन गर्छ। तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको युरिक एसिड मिर्गौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ। यसको मात्रा रगतमा एक सीमासम्म बढ्छ र त्यो सीमा कटेपछि थिग्रिएर ‘क्रिष्टल’ का रूपमा परिणत हुन्छ।
उदाहरणका लागि– एक गिलास पानीमा नुन या चिनी राखौं। पहिलो १, २, ३, ४ या ५ चम्चासम्म राख्दासम्म त्यो घोलिन्छ। तर जब मात्रा धेरै राखिन्छ तब त्यो पानीको पिँधमा गएर थिग्रिन थाल्छ र क्रिष्टल बन्छ। जसरी नुन या चिनी जमेपछि क्रिष्टल बन्छ त्यसैगरी युरिक एसिडको मात्रा पनि रगतमा बढ्दै गएपछि थिग्रिएर क्रिष्टलमा परिणत हुन्छ।
युरिक एसिडका क्रिष्टल शरीरका विभिन्न भागमा विशेषगरी जहाँ चिसो बढी हुन्छ, त्यहाँका जोर्नीसम्म पुग्छ। जस्तै हातखुट्टाका टुप्पा, घुँडाका जोर्नी आदिमा जम्न पुग्छ। जुन भागमा जम्छ त्यही भाग सुन्निने, रातो हुने, पोल्ने र दुख्ने लक्षण देखा पर्छन्। यही जोर्नी सुन्निने, रातो हुने, दुख्ने, झमझम गर्ने प्रक्रियालाई युरिक एसिड बढेको अर्थात् बाथ रोग भनिन्छ।

युरिक एसिडको सामान्य मापदण्डः
युरिक एसिड मापन गर्न रगत जाँच गरिन्छ। यसको मापदण्ड महिला र पुरुषमा फरकफरक हुन्छ। महिलामा ३.५ देखि ६.० एम.जीसम्म सामान्य मानिन्छ भने पुरुषमा ३.५ देखि ७.० एम.जीसम्म।
रगत जाँचमा युरिक एसिड मात्रा ३ देखि ४ सम्म हुँदा राम्रो मानिन्छ। यस अवस्थामा दुखाइ हुँदैन। ६ पुगेपछि दुखाइ सुरू हुन्छ। तर रगत जाँच गर्दा युरिक एसिड सामान्य छ र पनि शरीरमा दुखाइ छ भने शरीरमा ल्याक्टिक एसिड र अक्जालिक एसिड बढेको छ र युरिक एसिड बढ्ने क्रममा छ भन्ने बुझ्नु पर्छ। यी एसिड रगत जाँच गर्दा देखिँदैन।

युरिक एसिड बढ्नुका कारणः
खाना–
यो पाचनको समस्या हो। खाना पाचन भएपछि रासायनिक प्रक्रियाबाट विकारतत्व बन्छ, त्यसलाई मेटाबोलिक विकार भनिन्छ जसमा युरिक एसिड पनि एक हो। यही युरिक एसिड बढ्ने खालको खानपान बढी गर्नाले यसको मात्रा बढ्छ र समस्या हुन्छ। यसमा पनि प्युरिन बढी हुने खानपानले यो समस्या हुन्छ।
के हो प्युरिन?
प्रोटिन आहारमा प्युरिन एमिनो एसिड हुन्छ। यसको उपापचयबाट उत्पन्न हुने अन्तिम विकारतत्व युरिक एसिड हो। यो सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। तर युरिक एसिडको मात्रा बढी भएका आहार खाँदा रगतमा यसको मात्रा बढ्दै जान्छ, रगतमा अम्लियता बढ्छ र रगत वातरक्त बन्छ। दुखाइ हुन्छ।
कुन आहारमा प्युरिन बढी हुन्छ?
जन्तुस्रोतका खाद्यपदार्थमा– सबै मासु वर्गमा यो बढी हुन्छ। तर अहिले मासुलाई दुई भागमा विभाजन गरी बुझ्ने चलन छ, रातो र सेतो मासु।
रातो मासुमा बोसो बढी हुन्छ भने सेतोमा कम। राँगा, खसी आदिलाई रातो मासुमा गनिन्छ। त्यसैगरी माछा, कुखुरा र चराचुरुंगीलाई सेतोमा। सेतो मासुमा बोसो कम हुने भएकाले यो खान मिल्छ भन्ने बुझाइ छ। तर जुनसुकै मासु भए पनि त्यसमा प्रोटिन हुन्छ। यसमा पाचन हुन चाहिने रेसा-छोक्राबोक्रा पनि हुँदैन र पच्न धेरै समय पनि लाग्ने भएकाले मांसाहार नगर्नु नै समस्या हुन नदिने उत्तम उपाय हो।
दुई दलीय अन्नहरूमा–दुई फक्लेटा हुने सबै खालका गेडागुडी जस्तै दाल, भटमास, राजमा, चना, केराउ आदिले युरिक एसिड बढाउँछ।
दूग्ध पदार्थमा–दूध, दही र दूधबाट बनेका सम्पूर्ण परिकार, मिठाइहरू।
युरिक एसिड बढाउने तरकारीहरू– केही तरकारीमा अक्जालिक एसिड मात्रा बढी हुन्छ। यी तरकारी बढी खाँदा रगतमा युरिक एसिड बढ्छ। तोरी साग, पालुंगो, कुरिलो, भ्यान्टा, फर्सी, लौका, कर्कलो, गाँठे मुला, तितेकरेला, सलगम, हरियो केराउ, मुला, स्कुस, च्याउ, काँक्रा, सेतो काउली, बन्दा, स्कुसको मुन्टा, सलाद पत्ता, मस्यौरा आदि यस्ता तरकारी हुन्। अझ गुन्द्रुक र तामा सबभन्दा धेरै हुन्छ। त्यसैले युरिक एसिड बढेका बेला वा शरीरमा कतै पनि दुख्ने-सुन्निने समस्या भएमा यी सबै तरकारी बन्द गर्नुपर्छ।
युरिक एसिड बढाउने फलफूल– अमिलो गुणका सबै फलफूलले युरिक एसिड बढाउँछन्। मेवा, हरियो मकै, आँप, कटहर, कागती, अमिलो काफल, गोलभेडा, लप्सी, भुइँकटहर, खरबुजा, अमिलो भोगटे, अमिलो आरुबखडा, अँगुर आदि।
नट्स– ओखर, काजु, बदाम, मुंफली, काँचो नरिवल आदिले पनि शरीरमा एसिड बढाउँछ।
नशाजन्य, लागुऔषध र धूमपान– यी नशाजन्य पदार्थले एसिड उत्पादन गर्न धेरै मद्दत गर्छन्।
पानी कम पिउनु– रगतमा युरिक एसिड बढ्नुको अर्को मुख्य कारण पानी कम पिउनु हो। युरिक एसिड पानीमा घोलिएर पिसाब मार्फत् बाहिर फाल्ने काम हुन्छ। पानी कम भए युरिक एसिड फालिन सक्दैन।
त्यसैले बिहान उठ्नेबित्तिकै करिब एक लिटर मनतातो पानी घटघट पिउनुपर्छ। कुनै पनि ठोस आहारसँग पानी पिउनु हुँदैन। खाना वा खाजा खानुअगाडि वा पछाडि एक-एक घण्टाको फरकमा मात्र पिउनुपर्छ। दिनमा प्रति घण्टा एक गिलासका दरले पिउने र राती सुत्दा मनतातो पानी एक गिलास पिएर सुत्ने। जाडोमा साढे दुई लिटरदेखि ३ लिटर र गर्मीमा तीनदेखि ४ लिटर हाराहारीमा पानी पिउनुपर्छ। युरिक एसिड बढेको अवस्थामा पानी पिउने नियम कडाइ साथ लागू गर्नुपर्छ।
युरिक एसिड बढ्नुका अरु कारणः मोटोपन, धेरै खानु, अल्छी गर्नु, दिसा-पिसाब रोक्नु, धेरैबेर नखाइ बस्नु, राती धेरै ढिला सुत्नु, धेरै तनाव वा चिन्ता गर्नु, धेरै चिसोमा खेल्नु, औषधि धेरै सेवन गर्नु आदि। मोटोपन घट्ने क्रममा पनि युरिक एसिड बढ्छ।