रामपुर – रामपुर नगरपालिकाले ११ औँ नगर सभा मार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
आज (शुक्रबार) नगरसभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आर्थिक वर्ष २०७९–८० को लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
रामपुर नगरपालिकाको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, खानेपानी, खेलकुद, कला संस्कृति, रोजगारी, व्यापार ,व्यवसाय, सूचना तथा प्रविधि, पर्यटन जस्ता मुलभुत बिषयवस्तुलाई केन्द्रबिन्दु बनाई संशोधन सहित सर्वसम्मत रुपमा पारित भएको हो ।
सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख थापाले प्रयोगात्मक शिक्षण सिकाइका लागी ल्यापटप खरिदमा ३० प्रतिशत अनुदान, सार्वजनिक नमुना वाल पुस्तकालयको विकास, विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई नगरपालिका भित्र स्नातक र स्नातकोत्तर तह सम्म अध्ययनको लागि निशुल्क भर्नाको व्यवस्था, २०७६ साल श्रावण पछि जन्म भएका सबै छोरीहरुलाई नगरका सामुदायिक विद्यालय र क्याम्पसमा निःशुल्क शिक्षा उपलब्ध गराउने, सामुदायिक विद्यालयका बालविकास सहयोगी र विद्यालयका कर्मचारीको न्यूनतम तलब १५ हजार रुपैयाँ प्रदान गर्ने, नगरपालिका भित्रका उत्कृष्ट अंक ल्याइ प्राविधिक तथा चिकित्सक शिक्षा पढ्न चाहाने विद्यार्थीलाई कूल शुल्कको २५ प्रतिशत शुल्क खर्च नगरपालिकाले व्यहोर्ने बताउनुभयो ।
यस्तै ३० जना भन्दा बढीलाई रोजगार दिने उद्योग तथा व्यवसायलाई ३० लाख सम्म व्याज अनुदान दिने, १० करोड भन्दा बढी लगानी गर्ने रोजगार दातालाई ५० प्रतिशत विद्युत महशुल छुट दिने, बिउबिजनमा ५० प्रतिशत छुट दिने तथा आत्मनिर्भर बनाउने, वैदेशिक रोजगारीमा जाने युवाहरुको अभिलेख राखी आवश्यक तालिमको व्यवस्था गर्ने, फोहोर मैला व्यवस्थापनको लागि उचित स्थानको पहिचान गरी दिर्घकालिन रुपमा व्यवस्थापन गर्ने विषयहरु उल्लेख गरिएको छ ।
नगरपालिकाले ५० लाख भन्दा माथिका योजना आईईई र ईआईए गरेर मात्र कार्यान्वयन गर्ने, कालीगण्डकी र खोला नाला प्रदुषण बाट जोगाउन ढल विनाको शहर कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक रंग रोगन प्रयोग गर्ने नीति अवलम्बन गर्ने, सेवा प्रवाहलाई सहज गराउन नगरपालिका कार्यालयमा हेल्प डेक्स बनाई फोटोकपी तथा टेलिफोन सेवा उपलब्ध गराउने, मेयर संग दिर्घरोगी र जेष्ठ नागरिक स्वस्थ्य उपचार कार्यक्रम मार्फत सुगर, प्रेसर, दम र मुटुको रोगीलाई निशुल्क औषधी प्रदान गर्ने, सुत्केरी पोषण स्याहार भत्ता ५ सय थप गर्ने, एक वडा एक खेलकुद मैदानको अवधारणालाई अगाडी बढाउने, रामपुर ५ को रामघाट स्थित जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र यहि आर्थिक वर्ष बाट सञ्चालनमा ल्याउने, वि.सं. २०८१ भित्र मालमैत्री नगर घोषणा गर्ने, उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेवारी कार्यक्रमलाई निरन्तरता दिने, दुग्ध जन्य, मासु जन्य वा अन्य व्यवसायिक कृषि उत्पादन गर्ने कृषकलाई उत्पादनको आधारमा अनुदान दिईने, बाँदर प्रभावावित क्षेत्रमा अदुवा, बेसारको पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकीमा मौसमी व्यवसायिक मत्स्यपलन एवं -याफटिङ्ग सञ्चालन गर्ने, बेझाँड देखि राम्चे वन हुँदै सीताकुण्ड सम्म पदमार्ग निर्माणलाई निरन्तरता दिने जस्ता बिषय नीति तथा कार्यक्रममा समेटिएका छन् । यस्तै सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै सेवा सुबिधालाई थप चुस्त दुरुस्त पार्दै नीति तथा कार्याक्रमले नयाँ योजना सगैँ पुराना योजनालाई पनि निरन्तरता दिएको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरसभा मार्फत रामपुर नगरपालिकाका नगर उपप्रमुख वालकुमारी थापाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम कार्यान्वयनका लागी संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ७२ करोड ४७ लाख ९५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
शुक्रबार नगरसभामा प्रस्तुत गरिएको अनुमानित बजेट अनुसार संघतर्फ समानिकरण अनुदानमा १३ करोड ३७ लाख, सससर्तमा ३४ करोड २४ लाख समपुरकमा ५० लाख, विशेष अनुदानतर्फ १ करोड ७० लाख र राजश्व वाँडफाँडमा १० करोड ६३ लाख ६४ हजार रुपैयाँ, प्रदेशतर्फ समानिकरण अनुदानमा ७४ लाख ४६ हजार ससर्तमा १ करोड २० लाख, समपुरकमा २ करोड , विशेष अनुदानतर्फ ७० लाख र राजश्व वाँडफाँडमा १ करोड ३८ लाख पन्चासी हजार रुपैयाँ र आन्तरिक आय अन्तर्गत ६ करोड गरि कूल ७२ करोड ४७ लाख ९५ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको नगर उपप्रमुख वालकुमारी थापाले बताउनुभयो ।
यस्तै नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पुर्वाधार विकास तर्फ ११ करोड १४ लाख ३८ हजार २ सय पचास, सामाजिक विकास तर्फ ७ करोड ३२ लाख तीस हजार आठ सय पचास, लाख २४ हजार ८ सय, आर्थिक विकास तर्फ ४ करोड ४५ लाख ७५ हजार ३ सय, सुशासन तथा प्रशासनिक तर्फ ७ करोड ९५ लाख ९८ हजार ७ सय पचास, विपद व्यवस्थापन तर्फ ९५ लाख ५१ हजार ८ सय पचास, वडागत बजेट ५ करोड बीस लाख, सशर्तका कार्यक्रमतर्फ संघ र प्रदेशबाट ३५ करोड ४४ लाख रुपैयाँ बराबरको अनुमानित बजेट खर्च शिर्षकमा विनियोजन गरिएको हो ।
होटल न्यू श्रीनगरको सभाहलमा भएको नगर सभामा रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, ३ का वडा अध्यक्ष दामोदर पाठक, ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, वडा सदस्य नरेन्द्र कुमार जर्घा, ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, ७ का अध्यक्ष दोवराज तिवारी र १० का वडा अध्यक्ष तोयानाथ सारुले आफ्ना सुझाव राख्नुभएको थियो। रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागतबाट सुरु भएको कार्यक्रम कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।