
रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने हेतुले अर्गानिक साबुन बनाउने तालिम सगैँ प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । रामपुर नगरपालिकाले गरीबी निवारण गर्ने उद्देश्यका साथ नगरका विभिन्न वडामा संचालन गरेको लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत उक्त तालिम वडा नं २ मा सम्पन्न गरेको हो ।
महिलालाई समुहमा जोडेर उत्पादन र बजारीकरणबाट आयआर्जनमा थप टेवा दिन यो कार्यक्रम चलाइएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । बिगतका बर्षदेखि नै नगरका विभिन्न वडामा सानो लगानीबाट राम्रो आम्दानी लिन सकिने सिपमुलक तालिमको व्यवस्था हुँदै आएको समेत उहाँले बताउनुभयो ।
सहजकर्ता खटाएर तालिमको आवश्यकता र सिकाईपछि यसको दिगोपनाको लागि सामाग्री समेत हस्तान्तरण गर्दै आएको कार्यक्रमका सहजकर्ता सोनिका बिश्वकर्माले जानकारी दिनुभयो ।
१५ दिने तालिम समापनको अबसरमा सावुन बनाउन सीप सिकेका महिला र समुहलाई लक्षित गर्दै तालिम समापनका बेला प्रविधि हस्तान्तरण समेत गरेको वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण दर्जीले बताउनुभयो ।
गत असार ५ गतेबाट शुरु भएको तालिममा सहभागी महिला तथा दिदिबहिनीहरुले आयातित सामानको चर्को मुल्य तिर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई कम गर्न र स्थानीय स्रोत साधनको उच्चतम प्रयोगमा जोड दिन समेत यस तालिमले सहयोग गर्ने बताउनुभयो ।