
८ जेठ २०७९
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नीति तथा कार्यक्रम के का लागि पुनर्लेखन हुनुपर्ने हो भन्दै प्रतिनिधि सभाको सोमबारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा ओलीलाई प्रश्न गर्नुभएको छ । बैठकमा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदैं सांसद थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कसरी कागजको खोष्टो भयो भनेर प्रश्न गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पुर्वप्रधामन्त्री ओलीले नीति तथा कार्यक्रम कागजको खोष्टो बराबर भएकोले पुर्नलेखनको माग गरिरहेका बेला सत्ता पक्षका दलका सांसद थापाको यस्तो भनाइ आएको हो । सांसद थापाले भन्नुभयो, ‘सरकारले नीति तथा कार्यक्रम घोषणा गरिरहँदा यो देशको नेतृत्व सम्हाल्नुभएका केपी ओलीले नीति तथा पुर्नलेखन हुनुपर्छ, केबल यो एउटा कागजको खोष्टा छ भनेर जनतालाई ढाट्ने प्रयास मात्र हो ।’
उहाँले विश्वभर आर्थिक संकट आएको सन्दर्भमा विगतमा कोभिड, भूकम्प, नाकाबन्दी र संविधान निर्माणका बेलामा जस्तो एकजुट हुुनुपर्नेमा जोड दिनुभयो। थापाले अहिलेको नीति तथा कार्यक्रम नेपालको परिवेषलाई सम्बोधन गर्दै कृषि, जलश्रोत र पर्यटन हाम्रा प्रमुख आधार भएकोले त्यही आधारलाई टेकेर ल्याईएको भन्दै कसरी कागजको खोष्टो मात्र हुन्छ ? भन्दै ओलीलाई प्रतिप्रश्न गर्नुभयो ।
‘ओलीज्यूले पुर्नलेखन भनेको पनि सुने के को लागि पुर्नलेखन ? के तपाईले भनेजस्तो पानीजहाजको कुरा लेख्नुपर्ने हो ? के तपाईले भनेजस्तो घर घरमा ग्यासको पाइप भनेर लेख्नुपर्ने हो ? के तपाइले भनेजस्तो एक घर एक रोजगारी लेख्दिन पर्ने हो ? के तपाईले भनेजस्तो कुनै नेपाली भोकले मर्दैन् भनेर लेख्दिनपर्ने हो ? तर, देशको मुल आधार भनेकै यहि कृषि हो, यहि जलश्रोत हो, यहि पर्यटन हो, यहि जनशक्ति हो , यसैको जडमा नीति तथा कार्यक्रम आएको छ, सांसद थापाले थप्नुभयो ।’
नीति तथा कार्यक्रमले आम नेपालीमा आशा, भरोसा जगाएको भएपनि विगतमा प्रायः नीति तथा कार्यक्रमको ४० प्रतिशत पनि कार्यान्वयन हुन नसकेकोले यसलाई कार्यान्वयन गराउनु सबैको जिम्मेवारी भएको थापाले बताउनुभयो । यसरी सरकारले घोषणा गरेका कार्यक्रम कार्यान्वयन हुन नसक्नुमा भष्ट्राचार मुल जड भएकोले भष्ट्राचार निर्मूल पार्ने सबैको एजेण्डा भएको भन्दै भ्रष्टाचारको बिरुद्धमा सबै दल एकजुट भएर संकल्प गर्नुपर्नेमा उहाँको जोड थियो ।
उहाँले संसदलाई खाली घोचपेचको थलो बनाउनुभन्दा पनि देश बनाउने कार्यमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।