
स्याङ्जा, फागुन २८।
स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर १ सिरुवारीस्थित कुर्ले झाँक्रीथानमा १० औं शिरसुवा गम्भीर सिंह गुरुङ स्मृतिकप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । फागुन २३ देखि २७ सम्म पाँच दिन भएको उक्त प्रतियोगितामा पर्वतको भँगरा युवा क्लब विजयी भएको छ भने स्याङ्जाको राङ्खोला युवा क्लब उपविजेता भएको छ।
उक्त स्मृतिकप भलिबल प्रतियोगितामा १६ भन्दा बढी टिमका बीच प्रतिस्पर्धा भएको थियो । पर्वतको भँगेरा युवा क्लबले प्रथम स्थान हासिल गरेर रु. एक लाख नगद, प्रमाणपत्र र पदक आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
त्यस्तै सो प्रतियोगितामा उपविजेता स्याङ्जाको राङ्खोला युवा क्लबले रु. पचास हजार नगद, प्रमाणपत्र र पदक हात पारेको छ भने पर्वतको महाशिलाले रु. पच्चीस हजार नगदसहित प्रमाणपत्र र पदक हासिल गरेको छ ।
१६ भन्दा बढी टिमका बिचमा प्रतिस्पर्धा भएको उक्त भलिबल प्रतियोगिताको उद्घाटन फागुन २३ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नुभएको थियो ।
त्यस्तै प्रतियोगिताको दोस्रो दिन २४ गते पूर्व सांसद तथा गण्डकी विश्वविद्यालयका कुलपति डाक्टर गणेशमान गुरुङ प्रमुख अतिथिका रुपमा हुनुहुन्थ्यो भने फागुन २५ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुभएको थियो ।
समापनको दिन फागुन २७ गते शुक्रबारका दिन स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुभएको थियो । समापन कार्यक्रममा प्रहरी उपरीक्षक राजीव बस्नेतसहितको टोली पनि सहभागी भएको स्थानीय समाजसेवी उर्मिला गुरुङले बताउनुभयो ।
समापनमा बोल्दै प्रमुख जिल्ला अधिकारीले नेपालको प्रमुख पर्यटकीय गाउँ सिरुबारीमा यति ठुलो प्रतियोगिता आयोजना गरेर खेलाडीको हौसला बढाउने काम गरेकोमा शिरसुबा गम्भीरसिंह गुरुङ स्मृति भलिबल प्रतियोगिताका आयोजक टिमलाई बधाइ ज्ञापन गर्नुभएको थियो ।
आयोजक टिमका संस्थापक मेजर लिल बहादुर गुरुङले आफूहरुले विगत दस वर्षदेखि आफ्नो बुबा आमाको स्मृतिमा यस ठाउँमा नियमित भलिबल प्रतियोगिता आयोजना गरेर खेलाडीको हौसला बढाउने काम गरिरहेको बताउनुभएको थियो ।