
नारायण प्रसाद कोइराला, स्याङ्जा
७ माघ २०७९, शनिबार
स्याङ्जाको बिरुवा गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट २ जना कृषकहरूलाई जनही १ लाख नगद पुरस्कार प्रदान गरेको छ। यही शुक्रबार आयोजित १२ औं गाउँसभामा एकीकृत कृषि तथा पशुपालन फर्मका संचालक ओम बहादुर थापा र मौसम एग्रो फर्मका संचालक दिनेश रानालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
थापाले कृषि तर्फको उत्कृष्ट पुरस्कार पाउनुभएको हो भने रानाले पशुपालन तर्फको उत्कृष्ट पुरस्कार पाउनुभएको हो।कृषि तर्फ उत्कृष्ट हुनुभएका थापाले विगत ३ वर्षदेखी व्यवसायिक कृषि गर्दै आउनुभएको छ। उहाँले संचालन गरेको एकीकृत पशुपालन फर्ममा तरकारी खेतीका लागि स्थाई र अस्थायी प्रकृतिका गरि करिब एक दर्जन प्लास्टिक टनेहरू छ्न्।
महमा आत्मनिर्भर भैसकेको विरुवा गाउँपालिकामा उहाँको मात्रै २९ वटा मौरीका घारहरू छ्न्।यसैगरी पशुपालन तर्फ उत्कृष्ट भएका दिनेश रानाको बाख्रा फर्म छ। उहाँको मौसम एग्रो फर्ममा ७९ वटा बाख्रा छ्न्। उहाँले पनि पशुपालन व्यवसाय संचालन गरेको ३ वर्ष भएको छ।
पालिकाको एक मात्र समृद्धिको आधार व्यवसायिक कृषि भएकाले कृषकलाई प्रोत्साहन गर्न नगद पुरस्कार सहित सम्मान गरिएको पालिकका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले बताए। “समृद्ध विरूवाबासी, सुखी विरूवाबासी” को नाराको व्यवहारिक कार्यान्वयन तर्फ पालिका अग्रसर रहेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताए। युवाहरूलाई कृषि व्यवसाय तर्फ आकर्षित गर्न कृषि तथा पशुपालन व्यवसायमा आबद्ध पालिका भित्रका उत्कृष्ट किसानहरूलाई गाउँ सभामा पुरस्कृत गरिएको उनको भनाइ छ।
विनियोजन ऐन, आर्थिक ऐन, गाउँ प्रहरी ऐन, प्रज्ञा प्रतिष्ठान ऐन, बालिबलिकाको अधिकार सम्बन्धि ऐन, प्रशासकीय कार्यविधी ऐन ,कार्यविभाजन नियमावली लगायतका एक दर्जन भन्दा बढी ऐन, नियमावली र प्रतिवेदन सर्वसम्मत पारित गर्दै पालिकाको १२ औं गाउँ सभा सम्पन्न भएको छ।