स्याङ्जाको त्रिभुवन आदर्श क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता

 By Khabar Bhandar
२०७९ कार्तिक २, बुधबार २०:११  मा प्रकाशित

 

खबर भण्डार संवाददाता

स्याङ्जा जिल्लाको सदरमुकामस्थित मालेबगरमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाइ र बिबिएस तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अन्तर कक्षास्तरीय हाजिरीजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ ।

हाजिरीजवाफ प्रतियोगितामा बिबिएस प्रथम वर्षको समूह प्रथम भएको छ । सो समूहमा सृष्टि ढकाल, स्वस्तिका ढकाल, गंगा ढकाल सहभागि थिए । सो प्रतियोगितामा दोस्रो स्थान ओमकार गिरी, अमर गुरुङ र विपना नेपालीको बिएड दोस्रो वर्ष समूहले प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा कक्षा ११ व्यवस्थापन समूहका अङ्कित पौडेल, अमन लामिछाने र शिवु नेपालीले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितमा विभिन्न सङ्काय र सत्रका ९ समूहका विद्यार्थीहरु प्रतिस्पर्धामा थिए ।

प्रतियोगितामा सफल हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले यस्ता प्रतियोगिताहरुले विद्यार्थीको ज्ञान र सीपलाई मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्राध्यापक सोमनाथ लम्सालले क्याम्पसमा निरन्तर हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्न सके त्यसले लोकसेवा आयोगको प्रतिस्पर्धामा समेत सहयोग गर्ने बताउनुभयो ।

नेबिसङ्घ क्याम्पस इकाइ सभापति गौरव प्रधान, नेबिसड्घ पुतलीबजार नगरकमिटीका सभापति सविन रेग्मी, प्राध्यापक सोमनाथ लम्साल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेबिसङ्घ त्रिभुवन क्याम्पस एकाइको सचिव गोपी सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन बिबिएस तेस्रो वर्षका विद्यार्थी योगेश भुजेलले गरेका थिए ।

 

0
Would love your thoughts, please comment.x
()
x