स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी क्याम्पस प्रविधिमैत्री बन्दै

 By Khabar Bhandar
२०७९ चैत्र २८, मंगलवार २०:२२  मा प्रकाशित

 

स्याङ्जा/ २८ चैत्र २०७९

स्याङ्जाको मालेबगरमा अवस्थित त्रिभुवन बहुमुखी क्याम्पस प्रविधिमैत्री बन्दै गएको छ । विश्विद्यालय अनुदान आयोग र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा उक्त क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि आवश्यक सामग्रीको व्यवस्था गरिएको छ ।

विश्वविद्यालय अनुदान आयोग र गण्डकी प्रदेशको सहयोगमा प्रत्येक कक्षामा प्रोजेक्टर जडान गरिएको क्याम्पस सञ्चालक समितिका सदस्य पृथ्वी पोखरेलले बताउनुभयो ।

क्याम्पसमा आवश्यक ल्यापटप खरिद गरी आज एक कार्यक्रमका बिच खरिद समितिका संयोजक तथा क्याम्पस सञ्चालन समितिका सदस्य पृथ्वी पोख्रेलले क्याम्पस प्रमुख बाबुकुमार सिग्देललाई ५ थान ल्यापटप हस्तान्तरण गर्नु भएको हो ।

पोख्रलले भन्नुभयो, ‘अब सरहरुले प्रविधिको प्रयोग गरेर पढाउनुपर्दछ । प्रविधिबाट पढाउँदा विद्यार्थी पनि खुसी हुन्छन् । प्रविधिमैत्री वातावरण बनाउन ल्यापटप, प्रोजेक्टर, कम्प्युटरको व्यवस्था गरिएको छ ।­’

स्याङ्जा सदरमुकाममा रहेको यस त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा कक्षा ११ देखि स्नातोकत्तर तहसम्मको पढाइ हुन्छ । भारतीय राजदुताबासमार्फत् पूर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पहलमा क्याम्पसको अत्याधुनिक भवन निर्माण र टाढाबाट आउने विद्यार्थीहरुका लागि बसको समेत व्यवस्था गरिएको छ । श्रेष्ठ यस क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

‘क्याम्पसमा विस्तारै प्रविधिको प्रयोग गरिएको छ । प्रशासनिक कामदेखि कक्षाकोठामा शिक्षण गर्ने काममा आधुनिक प्रविधिको उपयोग गर्न थालिएको छ । यस काममा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र गण्डकी प्रदेशका निवर्तमान शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको योगदान छ ।’ क्याम्पस प्रमुख सिग्देलले भन्नुभयो ।

‘प्रत्येक कक्षाकोठामा सिसी क्यामेरा जडान भएको रहेछ । सिसी क्यामरा जडान गरेपछि परीक्षामा चोरी गर्ने काम पूर्ण नियन्त्रणमा आएको रहेछ । विद्यार्थी साथीहरुमा पनि पढेर पास गर्नुपर्छ भन्ने परेको रहेछ ।­’ हालैमात्र यसै क्याम्पसमा सञ्चालित बिबिएसको परीक्षामा सहभागी भएर फर्केकी वालिङ बहुमुखी क्याम्पसकी छात्रा वर्षा पङ्गेनीले बताउनुभयो ।

भर्खरैमात्र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षमा निर्वाचित सविन रेग्मीले आगामी दिनमा विद्यार्थीको चाहना इलाइब्रेरी भएको बताउनुभयो । अब भर्चुअल लाइब्रेरीको व्यवस्था गरि शैक्षिक गुणस्तर अभिवृद्धिमा अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

 

0
Would love your thoughts, please comment.x
()
x