स्याङ्जामा श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

 By Khabar Bhandar
२०७९ आश्विन २८, शुक्रबार २२:१५  मा प्रकाशित

 

युवराज पौडेल, असोज २८ ।

स्याङ्जा जिल्लाको सदरमुकामस्थित मालेबगरमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आज एक कार्यक्रमका बिच श्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले साहित्य, कला र संस्कृति भनेका राष्ट्रका सम्पत्ति भएको हुनाले यिनको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । उहाँले स्थानीय तहबाट पनि यस्ता संस्थाहरुको संवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले प्रतिष्ठानलाई यहाँसम्म ल्याइपुर्‍याउन धेरै सङ्घर्ष गर्नुपरेको बताउँदै प्रतिष्ठानलाई जोगाउने र यसलाई अझै मजबुत बनाउने कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले युवा पुस्ताले यसको संरक्षण र संवृद्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाली काङ्ग्रेस स्याङ्जाका पूर्व कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले साहित्य र कलाको संरक्षण गर्नुपर्ने दायित्व सबैको भएको बताउनुभयो । उहाँले समाज परिवर्तन गर्न तथा सामाजिक, राजनैतिक चेतना अभिवृद्धि गर्न कला साहित्यको ठुलो भूमिका हुने भएकाले साहित्यको संरक्षण महत्वपूर्ण विषय भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्रमुख तथा स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव बाबुकुमार सिग्देलले साहित्य समाजको ऐना भएकाले साहित्यको अध्ययन गर्दा समाजका थुप्रै विषयहरुको ज्ञान पाउन सकिने बताउनुभयो । विश्वका ठुला क्रान्तिहरुका पछाडि कला साहित्यको भूमिका महत्वपूर्ण रहेको हुनाले कला साहित्यको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार चिन्तु गिरीले कविता वाचन गर्नुभएको थियो । साहित्यकार सुमित्रा न्यौपाने, साहित्यकार देवेन्द्र लम्साल, लोकतान्त्रिक आन्दोलनका योद्धा तारापति सुवेदी, त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक दुर्गा प्रसाद पौडेल, स्याङ्जा साहित्य प्रतिष्ठानका सदस्य प्रमोद पङ्ग्यानी लगायतले रचना वाचन र शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त साहित्यिक कार्यक्रमको अध्यक्षता स्याङ्जा साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष टीकाराम वाग्लेले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्याङ्जा साहित्य प्रतिष्ठान कार्यसमिति सदस्य तथा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद पङ्ग्यानीले र स्वागत प्रतिष्ठानका अध्यक्ष साहित्यकार विश्वप्रेम अधिकारीले गर्नुभएको थियो।

त्यस्तै स्याङ्जा साहित्य प्रतिष्ठानका सदस्य त्रिभुवन शर्माले स्याङ्जा साहित्य प्रतिष्ठानका संस्थागत गतिविधि र उपलब्धि तथा चुनौतीहरुका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कला साहित्यका माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सर्जक साहित्यकारहरुलाई सम्मान गरिएको थियो ।

स्याङ्जा साहित्य प्रतिष्ठानले प्रदान गर्ने विश्वप्रेम अधिकारी र अधिकारी परिवारद्वारा स्थापित ‘रुग्मागत यशोदा लिलावती अधिकारी स्मृति पुरस्कार २०७९’ साहित्यकार तथा संस्कृतिविद् दिनबन्धु अर्याललाई प्रदान गरियो ।

त्यस्तै स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७८’ साहित्यकार एवम् पत्रकार डा बालकृष्ण चापागाईंलाई प्रदान गरिएको छ भने बलसागर गिरीद्वारा स्थापित ‘आमा सुमित्रा गिरी पुरस्कार २०७९’ साहित्यकार महानन्द ढकाललाई प्रदान गरिएको छ । त्यस्तै ‘निर्मल गिरी टुकमाया गिरी वातावरण पुरस्कार २०७९’ डा मेघराज ढकाल सम्मानित हुनुभएको छ ।

उक्त अवसरमा साहित्यकार तथा पूर्व मन्त्री दिनबन्धु अर्यालले स्याङ्जा साहित्य प्रतिष्ठानको उज्ज्वल भविष्यको कामना गर्दै रु १० हजार नगद प्रतिष्ठानलाई आर्थिक सहयोग समेत गर्नभयो ।

स्याङ्जा साहित्य प्रतिष्ठानले स्थापनाकालदेखि नै स्याङ्जालाई मूल भूमि बनाएर विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले प्रकाशन गर्ने साहित्यिक पत्रिका ‘रजस्थल’ को ९० औँ अङ्क प्रकाशन भइसकेको छ ।

 

0
Would love your thoughts, please comment.x
()
x