स्याङ्जा शीतभण्डारमा सुन्तला कुहिँदा किसानको बिचल्ली

 By Khabar Bhandar
२०७९ माघ ५, बिहीबार १७:१८  मा प्रकाशित

 

युवराज पौडेल/माघ ०५

नेपालकै पहिलो सुन्तला शीतभण्डार मानिएको पुतलीबजार नगरपालिका ११ मा रहेको स्याङ्जा शीतभण्डार सहकारीमा ठुलो सङ्ख्यामा सुन्तला कुहिँदा सयौंको सङ्ख्यामा किसानहरु मारमा परेका छन् ।

स्याङ्जा शीतभण्डार सहकारी लिमिटेडबाट सञ्चालित सो शीतभण्डारमा  एक महिना अगाडिदेखि किसानले कोल्ड स्टोर गरेका सुन्तला यतिबेला कुहिँदै गएका छन् । त्यस शीतभण्डारमा मंसिरको १२ देखि सुन्तला राखिएको थियो तर दस/बाह्र दिनदेखि सुन्तलामा ढुसी पलाएर बिग्रिन थालेपछि सुन्तला किसान निकै ठूलो चिन्तामा परेका छन् ।

शीतभण्डारमा करिब ३०० किसानका दुई चार क्रेटदेखि १३००/१४०० क्रेटसम्म सुन्तला भण्डारण गरिएका छन् । भण्डारण गर्नेहरुमध्ये कसैले खरिदै गरेर पछि नाफा कमाउन सकिन्छ भनेर ल्याएका छन् भने कसैले आफ्नै रुखबाट टिपेर ल्याएर भण्डारण गरेका छन् ।

१३०० मेट्रिक टन सुन्तला राख्ने क्षमता भएको उक्त शितभण्डारमा करिब ६ हजार क्रेट सुन्तला राखिएको भए पनि करिब ४० प्रतिशत सुन्तला बिग्रिसकेको सम्बन्धित किसानहरुले बताएका छन् । करिब ५० लाखभन्दा बढी मूल्यको सुन्तला क्षति भएको छ ।

बिग्रिन लागेको दुई हप्ता भइसक्दा पनि के कारणले सुन्तला बिग्रियो भन्ने कुराको पत्तो नलाग्दा दिनप्रतिदिन सुन्तला कुहिने सङ्ख्या बढिरहेको छ । शीतभण्डारमा पुग्नेबित्तिकै कुहिएका सुन्तलाको गन्ध आइरहेको छ ।

अहिले सुन्तलाको आपूर्ति बढी हुने सिजन भएकाले हुनाले कम मूल्य पर्ने तर पछि सुन्तला नफल्ने सिजनमा महङ्गोमा बिक्री गर्न सकिने भएकाले किसानहरुले ठुलो सङ्ख्यामा त्यस शितभण्डारमा सुन्तला राखेका थिए । स्याङ्जाका जैंसीडाँडा, बगालथोक, भीरकोट, वालिङ, गल्याङ लगायतका ठाउँहरुका किसानले सुन्तला त्यस शीत भण्डारमा राखेका थिए ।

शीतभण्डारका व्यवस्थापक सन्तोष लामिछानेले प्रति क्यारेट १२० का दरमा शीतभण्डारमा किसानहरुले सुन्तला राखेका तर पछिल्लो दुई हप्तादेखि सुन्तला कुहिने क्रम बढेको र सुन्तलामा सेतो ढुसी देखिएको बताउनुभयो ।

१२५० क्रेट सुन्तला ल्याएर उक्त शीतभण्डारमा सुन्तला राखेका गल्याङ ११ का किसान रुमलाल कँडेलले निकै भावपूर्ण शैलीमा भन्नुभयो, ‘मैले गल्याङ्बाट यत्रो सुन्तला ल्याएर यहाँ राखेँ । मेरो १० लाखको क्षति हुने भयो । यहाँ नेपालमा सुन्तला जोगाउने केही प्रविधि नै रहेनछ । बेकारमा हामी फँस्यौं । बरु अहिलेकै मूल्यमा बेचेको भए यत्रो घाटा बेहोर्नु नै पर्ने थिएन ।’

सुन्तला कोल्डस्टोरमा राखेका स्याङ्जाका किसान बोधराज अर्यालले भन्नुभयो, ‘हामीले सुन्तला नबिग्रला र पछि राम्रो मूल्य पाइएला भनेर सहकारीसँग कुरा गरेर सुन्तला राखेका हौं । तर सुन्तला एक हप्तामै ठुलो सङ्ख्यामा कुहिएको छ । अब हाम्रो सुन्तलाको लगानी सबै खेर गएको छ । किसानलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ, सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले भन्नुभयो, ‘नेपालकै पहिलो सुन्तला शितभण्डारको नयाँ प्रविधि भएकाले यो सबैका लागि नौलो र सिकाइको विषय भयो । गत वर्ष यसमा राख्दा राम्रो भएपछि यस वर्ष किसानहरु शितभण्डारमा सुन्तला राख्न प्रेरित भएको तर दुई हप्तादेखि सुन्तलामा समस्या देखिएको छ ।’ उहाँले भन्नुभयो,  ‘क्षतिपूर्ति दिन सक्ने स्थिति छैन । त्रिपक्षीय कमजोरी देखिएको छ । के गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित सबै निकाय मिलेर छलफल गर्नुपर्छ ।’

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले सुन्तलाको सबै कुरा सुन्तला सुपरजोनले हेर्ने भएकाले यसको विषयमा कृषि ज्ञान केन्द्रले केही भन्न नमिल्ने बताउनुभयो । उहाँले हाम्रो क्षेत्र नभए पनि आफूहरु जिम्मेवार भएर किसानका सुन्तला बिग्रँदा चिन्तित भएको बताउनुभयो । उहाँले भन्नुभयो’ ‘यसमा किसानले टिप्दा, ओसारपसार गर्दा तथा शीतभण्डारको तापक्रम र आद्रता नमिल्दा पनि समस्या भएको हुन सक्छ ।’

उक्त शीतभण्डार सहकारीका अध्यक्ष अनन्त श्रेष्ठले पहिले यसै शीतभण्डारमा आलु राख्दा राम्रो भएको, अघिल्लो वर्ष सुन्तला राख्दा पनि खासै नबिग्रिएको कारण यस वर्ष पनि बिग्रिन्न भनेर धेरै किसानहरुले सुन्तला यस भण्डार केन्द्रमा ल्याउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले १० प्रतिशत सुन्तला बिग्रेको थियो तर अहिले अलि बढी नै बिग्रियो। यस सम्बन्धमा हामी अनुगमन र छलफल गरिरहेका छौँ । प्राविधिक जाँच भइरहेको छ ।’

सुन्तला बिग्रिनुमा थुप्रै कारण हुन सक्ने पुतलीबजार नगरपालिका कृषि शाखाका अधिकृत अस्मिता रेग्मीले बताउनुभयो । उहाँले टिप्नुभन्दा पहिलादेखि नै तयारी गर्नुपर्ने, टिप्दा उपयुक्त तरिकाले तिर्नुपर्ने, ग्रेडिङ, पोस्ट हार्भेस्ट लगायतका विषयदेखि यहाँको तापक्रम र आद्रताको उपयुक्तता नमिलेको जस्ता विविध कारणले सुन्तला कुहिएको हुन सक्ने बताउनुभयो ।

स्याङजा पुतलीबजार १ का किसान कृष्णप्रसाद अर्यालले भन्नुभयो, ‘मैले यस भण्डारमा १७० क्रेट सुन्तला राखेको र तीमध्ये ३२ क्रेट सुन्तला बिग्रिइसकेको तथा बाँकी पनि बिग्रिने क्रममा रहेको छ । उहाँले भन्नुभयो, ‘सुन्तला बिग्रिन लागेको १५ दिन भयो । एक हप्ता यता कुहिने क्रम बढी देखियो ।’ कुहिन थालेपछि जुन स्तरमा सतर्कता हुनुपर्ने हो त्यो पनि हुन नसक्दा क्षति बढी भएको उहाँको भनाइ छ । नेपालमै पहिलो सुन्तलाको शीतभण्डार भएकाले यो सबैका लागि नौलो भएको र समस्या सबैतिरबाट सिर्जना भएको उहाँले बताउनुभयो ।

सुन्तला ठुलो सङ्ख्यामा कुहिएर बिग्रेपछि अहिले जिम्मेवार निकायहरु एकले अर्कोलाई दोष थोपर्ने प्रयासमा लागेका छन् । किसानले सुन्तला सुपरजोनलाई, सुपरजोनले किसानलाई, कसैले सम्बन्धित शीत भण्डार सहकारीलाई दोष दिइरहेका छन् । कसैले नौलो प्रविधि भएकाले सिकाइको क्रममा यस्तो भएको भन्ने टिप्पणी गरिरहेका छन् ।

वास्तवमा उक्त शीतभण्डारमा सुन्तलाको हरिबिजोक देख्दा सुन्तला हेर्न त्यहाँ पुग्ने मानिसले किसानप्रति सहानुभूति देखाइरहेका छन् । हामी रिपोर्टिङका लागि उक्त  शीतभण्डारमा जाँदा आफ्ना क्रेटमा कुहिएका सुन्तला हेरेर टोलाइरहेका किसानहरुका आँखामा आँसु टिलपिलाएको भावुक दृष्य देख्यौं । सबै मौन, चिन्तित देखिन्थे । अब बाँकी सुन्तला पनि कुहिने पिरले भित्रबाटै पिरलिएका थिए । वास्तवमा वर्षभरि लगानी गरेर दुःख गरेका किसानका दसौं- बिसौं लाखका सुन्तला कुहिँनु सामान्य र हल्का विषय पक्कै थिएन ।

यत्रो सङ्ख्यामा सुन्तला किन र के कारणले बिग्रिए भन्ने कुराको वास्तविक तथ्य अहिलेसम्म कसैले पनि पत्ता लगाउन नसकेको किसानहरुले बताए । शीतभण्डारको निकै उकुसमुकुसपूर्ण वातावरणमा कुहिएका सुन्तलाको गन्ध सहेर झिनो आशामा सुन्तलाको ढुसी फालिरहेका किसानहरु मलिन अनुहार लिएर झोक्राइरहेका थिए भने कतिपय कोही आक्रोसित मुद्रामा देखिन्थे ।

प्रमुख जिल्ला अधिकारीदेखि नगरप्रमुखसम्म, सहकारीका अध्यक्षदेखि पत्रकारसम्मले यहाँ आएर कुहिएका सुन्तलाको अनुगमन गरिरहे तापनि सुन्तला कुहिनुको ठोस कारण र किसानलाई क्षतिपूर्ति दिने सन्दर्भमा अहिलेसम्म पनि उचित समाधान निस्कन नसकेको शीतभण्डारमा सुन्तला रुँगेर बसिरहेका किसानहरुले बताएका छन् ।

सिकाइ र अनुभवका  लागि मात्र हो भने दुई चार ओटा क्रेट मात्र राख्नुपर्ने थियो तर यति ठुलो सङ्ख्यामा सुन्तला राख्न लगाएर अहिले आएर ‘अर्को वर्षका लागि सिकाइ भयो’ भन्नु गैरजिम्मेवार कुरा भएको किसानको गुनासो थियो । किसानको आँसु देख्ने यो मुलुकमा कोही नभएको भन्दै केही किसानले राज्यका निकायहरुप्रति आक्रोस पोखिरहेका थिए । उनीहरुले यसको जिम्मा सम्बन्धित स्याङ्जा शीतभण्डार सहकारी, सुन्तला सुपरजोन र कृषि ज्ञान केन्द्रले लिनुपर्ने बताइरहेका थिए ।

 

 

0
Would love your thoughts, please comment.x
()
x