स्ववियुको पहिलो सभापति त्रिभुवन शर्मा

 By Khabar Bhandar
२०७९ माघ ५, बिहीबार ०५:०६  मा प्रकाशित

 

रविन्द्र माकाजु/माघ ०४

पृथ्वीनारायण कलेजको पहिलो स्वतन्त्र विद्यार्थी युनियनको सभापति को थिए भनेर भन्ने हो भने धेरैलाई थाहा नहुन सक्छ । यसको सही उत्तर हो–त्रिभुवन शर्मा । जो २०२४ साल कार्तिक २९ गते पहिलोपल्ट भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएर आफ्नो नाम र यश स्वर्ण अक्षरले लेखे ।

त्यतिमात्र होइन, उनी पृथ्वीनारायण कलेजको छात्राबासमा बस्ने पहिलो समुहमा एक छात्र पनि थिए । उनी वि.सं. २०१८ साल भाद्र महिनामा आइ.ए.मा भर्ना भए । विद्यार्थीहरू मिलेर भीमकाली पाटनमा कलेजको छाप्रो बनाउन सक्रिय भएर लागेका शर्माले विद्यार्थीहरूकै सक्रियतामा कलेजको मुखपत्र ‘माछापुच्छ्रे’ (२०२४) प्रकाशन गरेका थिए ।

वि.सं. १९९९ माघ १६ गते स्याङ्जाको आँधीखोलामा जन्मिएका शर्माले २०१७ सालमा विन्ध्येश्वरी रात्री पाठशालाबाट मध्यमा पास गरे भने पृथ्वीनारायण कलेजबाट स्नातक पुरा गरी त्रिभुवन विश्व विद्यालयबाट द्यब्म् (डिप्लोमा इन एजुकेशन) पास गरे । प्रारम्भमा उनी पञ्चमूल सिरुबारीको राष्ट्रिय प्राथमिक विद्यालयको हेड मास्टर बन्न पुगे ।

उनको समग्र जीवन शिक्षा क्षेत्रमै बितेका छन् । हाल उनी साहित्यिक एवं सामाजिक संघ संस्थामा आवद्ध छन् ।
कलेजका ती पुराना दिन सम्झदै शर्मा भन्दछन्–
‘पृथ्वीनारायण कलेज पोखराद्वारा आयोजित २०२४ पौष २७ देखि माघ ८ गतेसम्म सञ्चालित “पाँचौ बृहत् विकास प्रदर्शनी” लाई कलेज परिवारको सक्रिय सहयोगमा विद्यार्थी युनियनले भव्यताका साथ सफल पारेको थियो । यसबाट कलेजलाई आर्थिक सहायता जुटाउने कार्यका साथ विविध खाले बौद्धिक प्रतियोगिता, खेलकुद प्रतियोगिताबाट विद्यार्थी वर्ग लाभान्वित भएका थिए । विकास र मनोरञ्जन समेतका स्टल रहेको यो हामी उच्चकोटीको पोखरा महोत्सवका रूपमा मूल्याङ्कन गर्ने गरिन्थ्यो ।’

पृथ्वीनारायण क्याम्पसबाट थुप्रै विद्यार्थी नेताहरु तयार भए । अझ विशेष गरी स्ववियु सभापति भएकाहरु प्राय राज्यका उच्च तहमा पुगेका छन् । अहिले कै सन्दर्भमा भन्नुपर्दा गण्डकी प्रदेशमा मूख्यमन्त्री खगराज अधिकारी, पूर्वमन्त्री स्व. रवीन्द्र अधिकारी, पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, पूर्वमन्त्री तुलबहादुर गुरुङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व सभासद राजिव पहारी लगायत थुप्रै छन् । उहाँ माध्यमिक तहको प्रथम श्रेणीबाट रिटार्यड हुनुभयो ।

उमेरले ८० टेके पनि वरिष्ठ शिक्षासेवी, समाजसेवी मिलनसार व्यक्तित्व त्रिभुवन शर्मा कुनै बेला ०२४-२५ सालतिर ‘नेपाल पर्यवेक्षक’ साप्ताहिक पत्रिकामा सम्पादक थिए । उनी नेपाली काङ्ग्रेस पार्टीसँग पनि आवद्ध थिए ।

अहिले पनि स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित ‘रजस्थल’ पत्रिकाको सम्पादन गर्ने जिम्मेवारी सम्हाल्दैछन् । उनले थुप्रै ग्रन्थहरुको सम्पादन गरेका छन् भने आफ्नै ‘फूलपाती’ ग्रन्थ प्रकाशन गरेका छन् । हाल उनी सपरिवार पोखरा ८ न्यूरोडमा बसोबास गर्दछन् ।

 

0
Would love your thoughts, please comment.x
()
x