
केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्यो। सम्मान पाउँदा रूद्रप्रसादले आफ्नो सुरूआतका संघर्ष झलझली सम्झिए।
केही दिनअघि माडी नगरपालिकाले स्थानीय गाईपालक रूद्रप्रसाद रेग्मीलाई आफ्नो कार्यक्षेत्रकै पहिलो र नमूना व्यवसायिक गाईपालक भनेर सम्मान गर्यो। सम्मान पाउँदा रूद्रप्रसादले आफ्नो सुरूआतका संघर्ष झलझली सम्झिए।

उनी तिनै रूद्रप्रसाद हुन्, जसले दशकअघि ४ हजार रुपैयाँ तिरेर एउटा बाछी किन्नसम्म सकेका थिएनन्। किन्नका लागि नगद नभएपछि अधियाँमा एउटा बाछी पाल्न थालेका उनी अहिले पशुपालनबाट महिनामा झण्डै एक लाख रुपैयाँ आम्दानी गर्छन्।
माडी नगरपालिका–८ शिवद्वारमा एउटा चिटिक्क परेको घरको पछाडि रहेको गोठ गाई र भैंसीले भरिएका छन्। यही गोठ र गाई, भैंसीको स्याहारमा रूद्रप्रसाद र उनको परिवारले समय खर्चन थालेको डेढ दशक भयो।
गोठको छेउमा हृष्टपुष्ट देखिएको ‘कैली गाई’ त्यही बाछी हो जसलाई रुद्रप्रसादले पैसा नभएर किन्न सकेका थिएनन्। अधियाँमा गोठमा भित्र्याएको यो कैली दश बेत व्याइसकेछ।




अधियाँको गाईले दुई पटक बाछो, बाँकी सबै बाछी पायो। तिनै बाछी हुर्कंदै उनको गोठ भरिन थाले।
‘बल्ल–बल्ल आधा गाई भित्र्याएको थिएँ, लक्ष्मी परिछन्। यिनलाई भित्र्याएपछि मेरो जीवनमा लक्ष्मीको अभाव हट्दै गयो,’ उनले सुनाए, ‘अहिले गाई र भैंसीले गोठ भरिएका छन्, मलाई पुग्ने गरी कमाइ दिइरहेका छन्।’
रूद्रप्रसादले २०७१ सालमा गोर्खाली रेवा गाई फर्म दर्ता गरेर व्यवसायिक गाईपालनको सुरूआत गरे।